Print

एउटै मञ्चमा मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम


१५ मंसिर, पर्वत । खर्च मितब्ययीताको प्रयास गरी रहेको पर्वत जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा बार्षिक कार्यक्रममा समावेश बालमैत्री वडा घोषणा कार्यक्रम एउटै मञ्चको प्रयोग गरी सञ्चालन गरेको हो ।

आइतबार मोदी ६ डिमुवा स्थित नवजागृत बहुमुखी क्याम्पसको प्राङगणमा आयोजीत ३ वटै कार्यक्रमलाई प्रदेश सभा सदस्य भक्त कुँवरले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाले अघि सारेको खर्च कटौती, मितब्ययीता र पारदर्शीताको उदाहरणको प्रशंसा गर्दै प्रदेश सभा सदस्य कुँवरले खेल क्षेत्रको माध्यमबाट युवा शक्तिलाई देशको पहिचानमा लगाउनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाले बार्षिक रुपमा सञ्चालन गर्ने खेलक्षेत्रका कार्यक्रमहरुले युवा शक्तिलाई कुलतमा लाग्नबाट रोक्ने दाबी गर्नुभयो । उहाँले बालमैत्री वडाहरुको घोषणा मार्फत गाउँपालिकाले बालबालिकाको सर्वाङगीण विकासको प्रयास गरेको बताउनु्भयो ।

मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले खेलक्षेत्रको विकास र विस्तारमा मोदी गाउँपालिका सधै संवेदनशिल रहेको बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले गाउँपालिकाले एउटै समयमा ३ वटा कार्यक्रमको औपचारिक घोषणा गरी समय र खर्च दुवैको सदुपयोग गरिएको बताउनुभयो । उहाँले युवा, बालबालिका र लक्षित वर्गका लागि गाउँपालिकाले विशेष प्रकारका कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रमको अवसरमा मोदी ६ तिलाहारलाई बालमैत्री वडा घोषणा गरिएको थियो । सोहि दिन अध्यक्ष कप अन्तर्गत पालिका स्तरीय भलिबल प्रतियोगीता तथा ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विभिन्न विद्यालयहरुले सहभागीता जनाएका छन् ।