शनिबार रातीदेखि परेको अविरल वर्षका कारण आएको पहिरोले पर्वतको लाङ्दीमा दुई जनाको पुरिएर मृत्यु भएको छ। मोदी गाउँपालिका– ३, देउरालीको लाङ्दीमा एक दम्पती पुरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीलाई उद्धारकार्य गर्दै जाँदा प्रहरीले मृत अवस्थामा भेटेको हो। मृत्यु हुनेमा ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी धर्मपत्नी ७५ वर्षीय विष्णुमती विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिए। डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी गरिएको थियो।
‘बिहान करिब ५ बजेको समयमा घटना घटेको भन्ने खबर भयो, वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा उद्धार टोली घटनास्थलमा पुग्न पनि निकै कठिनाई भयो, प्रहरी प्रमुख विष्टले भने,‘२१ जना प्रहरीको टोली र स्थानीयको सहयोगमा उद्धारका लागि सफल भइयो, छविलाल दम्पती मृत अवस्थामा भेटिएका छन्।
दुईजनाको मृत्यु भएको छ । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उनको भनाइ छ । छविलालको घरमाथीबाट आएको पहिरोले घर पुर्ण रुपमा पुरिएको उनले बताए । दुवैजनाको शव पोष्टमार्टमका लागि पर्वत अस्पताल ल्याउँदै गरिएको छ । घटनामा अन्य के कती क्षती भयो सो को विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख विष्टले बताए ।




