२६ माघ, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले १६ मुरी कोदो विक्रीका लागि सुचना प्रकाशीत गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा कुश्मा नगरपालिकाले बाँझो जग्गामा नगरपालिकाले उत्पादन गरेको कोदो विक्रीका लागि नगरपालिकाले सुचना प्रकाशित गरेको हो ।
नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई समेत सदुपयोग गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदो खेती गरेको थियो । प्रति पाथी २ सय ५० का दरले नगरपालिकाले कोदो विक्रीका लागि सुचना प्रकाशित गरेको छ । कोदो विक्रीबाट कुल ८० हजार न्यूनतम आम्दानी हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जनाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बजेट सकाउने माध्यम मात्रै नभएर रोजगार र उत्पादन दुवैमा जोड्नका लागि आर्थरको बाँझो जग्गालाई छनोट गरिएको थियो । विगतमा पनि कोदो खेतीमा प्रख्यात रहेको उत्पादनयोग्य भूमि बसाइसराइ र अन्य कारणले बाँझो बनेको थियो ।
सोही जग्गालाई सदुपयोग गर्ने गरी करिब दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको कुश्मा नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताए ।
राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले उद्देश्य अनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री वितरण गरी पालिकाको आन्तरिक आय वृद्धिका लागी यो अवधारणा तर्जुमा गरिएको नगरप्रमुख रामचन्द्र जोशी बताउँछन् । पालिकाको नीति तथा कार्यक्रम अनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रमले बाँझो रहेको जमिनमा उब्जनी हुने आशा गरिएको बताए ।
नागरिकको रोजगारीको हकलाई कार्यान्वयनका अतिरिक्त मुलुकभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउने गरी सङ्घ, प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको हो ।





