Print

रतीखोला–चित्रे सडक स्तरोउन्नतीको काम शुरु

७ पुस, पर्वत । पर्वत, कास्की र स्याङ्‌जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे सँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्‌ने सडक स्तरोन्नतीको काम शुरु भएको छ ।

पर्वतको मोदी गाउँपालिका वडा नं. ६ रतीखोलादेखि वडा नं. ८ चित्रेसम्मको १२ किलोमिटर सडक स्तरोन्नती गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत यो रतीखोला-दराक-चित्रे-गँगटे सडक स्तरोन्नतीका लागि ४२ करोड रुपैयामा सम्झौता भएको थियो ।
सडक स्तरोन्नती तथा कालोपत्र सहित ३० महिनामा सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको हो । सडक निर्माणको जिम्मा ओएशिस इन्जिनियरिङ्ग बिल्डर्स, पुर्ण लक्ष्मी प्रालि जेभिले पाएको छ ।

निर्माणधिन सडकको प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री पदम गिरीले निरिक्षण गरेका छन् । निरिक्षणकै क्रममा पूर्व मन्त्री गिरीले आयोजनाको काममा स्थानीयको सहयोग हुनु पर्ने बताए । उनले समयमै गुणस्तरीय काम गर्न निर्माण ब्यवसायीलाई आग्रह समेत गरेका छन् । आयोजनामा बजेट अभाव हुन नदिने भन्दै तोकिएको अवधिमा काम पुरा गर्न समेत गिरीले आग्रह गरे ।

उक्त सडक अन्तर्गत दुई खण्डमा विभाजन गरेर धमाधम निर्माण कार्य थालिएको निर्माण कम्पनीका साईड इन्चार्ज लाक्पा तामाङले जानकारी दिए । उनका अनुसार अहिले ९० जना मजदुर र पर्याप्त यन्त्र उपकरण परिचालन गरेर द्रुत गतिमा काम भैरहेको छ । सडक मापदण्ड अनुसार चक्ल्याउने, ग्यावियन जालि भर्ने, नाली तथा टेवा पर्खाल निर्माण जस्ता कामहरु भैरहेको तामाङको भनाई छ ।

सडक निर्माणको लागि ढुंगाको भने समस्या रहेको छ । स्थानीय रतीखोलावाट पर्याप्त मात्रामा ढुंगा निकाल्न नपाउँदा कामको गति बढाउन समस्या भएको उहाँको भनाई छ । गाउँपालिका र स्थानीय वासीसँग सहमति गरेर खोलाको ढुंगा प्रयोगमा ल्याउने तयारी भैरहेको छ । निर्माण सामाग्रीको पर्याप्तता र अन्य कुनै अवरोध नभएमा अबको २५ महिनामै सडक कालोपत्र गरिसक्ने दावी निर्माण कम्पनिको रहेको छ ।

सडक खण्ड अन्तर्गत आठ किलोमिटरमा ग्यावियन जाली भर्ने र अन्य पुर्वाधारको काम भैरहेको छ भने तीन किलोमिटर कटिङ्ग गरिसकिएको छ । गत असारमा पुर्वाधार विकास कार्यालय पर्वत सँग निर्माणको सम्झौता भएपनि वर्षायाम रोकिएपछि मात्र काम शुरु भएको थियो ।

सडक स्तरोन्नती नहूँदा गण्डकी प्रदेशमै प्रख्यात चित्रे होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै स्थानीयहरुले आवतजावतमा सास्ती व्यहोर्दै आएका थिए । यहाँका बासिन्दा छिमेकी वडा राम्जादेउराली, आर्थरडाँडाखर्क हुँदै सदरमुकाम र डिमुवा बजारमा आउन बाध्य भएका थिए । अब भने मोदी गाउँपालिकाको केन्द्र रहेको मध्यपहाडी लोकमार्गमा जोडिने पातीचौर सम्म सिधा सडक सम्पर्कले जोडिने स्थानीय होमस्टे व्यावसायि शुशिलादेवी गुरुङले बताईन । स्थानीयवासीका साथै होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भएको छ ।