Print

पर्वत अस्पतालले सरकारसंग स्वास्थ्य बिमाको २ करोड ९५ लाख भुक्तानी लिन बाँकी


२७ भदौ पर्वत । जिल्लाको सवैभन्दा ठूलो अस्पताल पर्वत अस्पतालले सरकारसंग स्वास्थ्य बिमा तथा डायलासिस वापतको २ करोड ९५ लाख १७ हजार ५ सय २२ रुपैंया रकम भुक्तानी लिन बाँकी छ । अस्पतालले स्वास्थ्य बिमा गरेका विरामीसंगको परिक्षण गरेवापत नेपाल सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर, सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको छ ।

सरकारले देश भरका स्वास्थ्य बिमाको गरेका विरामीहरुलाई दिने सेवा वापतको तोकिएको रकम भुक्तानी दिने गर्दछ । सरकारले देश भरका सवै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्षेनी भुक्तानीमा समस्या पर्ने गरेको छ । स्वास्थ्य बिमा बोर्ड अस्पतालहरुबाट प्राप्त बिल भरपाईका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गर्दछ ।

मन्त्रालयले आवश्यक बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाउँछ, तर अर्थले बजेट सुनिश्चितता नगर्दा उक्त रकम भुक्तानीमा समस्या पर्दै आइरहेको छ । कतिपय प्राइभेट अस्पतालहरुले सरकारले समयमा रकम भुक्तानी नदिएको भन्दै बिमा बापतको सेवा बन्द गरेका छन् । सरकारसंग स्वास्थ्य बिमाको रकम भुक्तानी दिनसक्ने बजेट नभएकाले बर्षेनी यस्तो समस्या पर्दै आइरहेको छ । एक परिवारका लागि ३५ सयको प्रिमियम तिर्दा ५ परिवारका लागि सरकारले १ लाख रुपैंया बराबरको बिमा रकम भुक्तानी दिने गर्दछ ।

५ जना भन्दा बढी सदस्य रहेको साधरण परिवारको हकमा प्रति सदस्य थप रु ७०० योगदान रकम बुझाउनु पर्नेछ र उपचार सुविधामा रु १ लाखमा २० हजार रुपैयाँका दरले थप्दै प्रति वर्ष अनिकतम २ लाख रुपैयाँ सम्मको उपचार सुविधा पाउनेछ ।