Print

कुश्मामा ५ दिन मेडिटेशन प्रशिक्षण हुने

६ साउन, पर्वत । बह्रमकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतले कुश्मामा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम गर्ने भएको छ । ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो ।

समाजमा बढ्दै गएको नैतिकताको पतन, युवा वर्गमा विकराल बन्दै गएको दुव्र्यसन–कुलत साथै पुरातन धर्म, संस्कृतिको नाममा आएको सामाजिक एवम् धार्मिक विसंगति र विकृति तथा तडकभडकवाट पर्न गएको सामाजिक समस्यालाई न्यूनिकरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।

पाँच दिनसम्म संचालनहुने प्रशिक्षणमुलक मेडिटेशनको बरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले गर्नेछन्। प्रशिक्षणमा आध्यात्मिक एवं मानव कल्याणकार िचिन्तन अन्तर्गत अत्यन्तै शिक्षकमुलक विषयमा प्रशिक्षण गर्नुहुने भएको छ । स्वप्रवन्धन नेतृत्व विकास, तनावमुक्त जीवन, सम्पुर्ण योग्य जीवन, सम्पुर्ण स्वास्थ्य एवं खुशिपुर्ण जीवन, सकारात्मक जीवनशैली, मुल्यनिष्ठ शिक्षाघारा स्व सशक्तिकरण, लागु पदार्थ दुव्र्यसन उन्मुक्ति शिक्षा आदि विषयमा सहजीकरण गरिने भएको छ ।

हरेक दिन दुई सत्रमा कार्यक्रम संचालन हुने भएको छ । पहिलो सत्र दिउँसो साढे १२ बजेदेखि साढे २ बजे सम्म र सन्ध्याकालीन सत्र साँझ साढे ४ बजेदेखि साढे ६ बजेसम्म संचालन हुने भएको छ । गण्डकी प्रदेश स्तरीय यो कार्यक्रममा जुनसुकै उमेर समुह र पेशा व्यावसायका नागरिकहरुले पनि सहभागिता जनाउन पाउने भएका छन् ।

कार्यक्रमको जानकारी तथा प्रचारप्रसारका लागि आइतवार आयोजित पत्रकार सम्मेलनमा कुश्मा शाखाकी संचालिक ब्रम्हाकुमारी राधिका बरालले कार्यक्रमको तयारी तथा व्यवस्थापनका बारेमा जानकारी दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले मानिसहरूमा बढ्दो निराशालाई उत्साहमा परिणत गरि सकरात्मक जीवन बाँच्न मेडिटेशन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न वताउँदै वर्तमान समयमा यस्ता खालका प्रशिक्षणमुलक कार्यक्रम अत्यावश्यक रहको बताए। उनले द्वन्द्व, भूकम्प, कोरोना र नाकाबन्दीसँगै देशमा छाएको आर्थिक मन्दी र मान्छेहरुमा आएको चरम निराशामा यस्तो प्रशिक्षण आवश्यक रहेको ठानेल नगरपालिकाले पनि सहकार्य गरेको बताए।