Print

खानेपानी उपभोक्ता समिति सर्वपक्षिय नभएपछि निर्वाचन प्रक्रिया रोक्न माग

२२ असार, पर्वत । शिवालय खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको निर्वाचन कार्यक्रम रोक्न नेकपा एमाले निकट उपभोक्ताहरुले माग गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष गोविन्द पहाडी सहितको टोली शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी समक्ष निर्वाचन प्रकृया रोकी सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गर्न माग गरेको हो ।

खानेपानी जस्तो पवित्र संस्थामा राजनीति गर्न नहुने भन्दै सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न माग गरिएको हो । एमाले निकट उपभोक्ताहरुले निर्वाचन कार्यक्रम बहिष्कार गर्ने निणर्य गरिसकेका बेला नेपाली काँग्रेसले बलपुर्वक निर्वाचन गर्न थालेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

संस्थामा आवद्ध उपभोक्ताहरु मध्ये ५० प्रतिशत उपभोक्ताको पनि नविकरण नगरिएको, संस्था भित्र भएका अनियमिततालाई ढाकछोप गरिएको, साधारण सभामा उपस्थित नभएका उपभोक्तालाई घरघरै गएर हस्ताक्षर गराईएको जस्ता आरोप एमाले निकट उपभोक्ताहरुले लगाएका छन् ।

खानेपानी उपभोक्ताहरुको ठुलो हिस्सालाई बाहिर राखेर गरिने उक्त संस्थानको निर्वाचनले भविष्यमा असहज वातावरण पैदा हुने भएकाले सहमति र सहकार्यवाटै निर्वाचन गराउन उपभोक्ताहरुको माग रहेको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा स्थापना कालदेखिनै नेपाली काँग्रेस निकट उपभोक्ताको वर्चश्व रहँदै आएको छ ।

निर्वाचनमा एकाले निकट उपभोक्ताहरुले समेत उम्मेदवारी दर्ता गरेको भएपनि सहमतिवाटै जानका लागि फिर्ता लिएका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले दुवै पक्षलाई राखेर सहमतिको वातावरण बनाउन पहल गर्ने बताउनुभएको थियो ।