३२ जेठ, पर्वत । जिल्लाको विहादी गाउँपालिकाको आगामी गाउँ सभा असार ३ गते हुने भएको छ । गाउँपालिकाकाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट आगामी जेठ ३ गते आयोजना हुने गाउँ सभामा पेश गर्ने भएको हो ।
आगामी असार ३ गते आब्हान गरिएको १५ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष परविन गुरुङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश गर्नेछन् । सोहि दिन नीति तथा कार्यक्रम गाउँ सभाले पास गरेपछि उपाध्यक्ष मिना तिवारीले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम पेश गर्ने कार्य सुचि रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद भुषालले जानकारी दिए ।
भुषालका अनुसार असार ३ गते स्थानीय तहको सभा सञ्चालन कार्यविधि तथा ऐन २०७५ को दफा ३ बमोजीम दिनको १ बजेका लागि गाउँ सभाको आब्हान भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट निर्माण पूर्व गाउँपालिकाका सवै वडाहरुमा स्थानीयबासीसंग सुझाब संकलन गरेको थियो ।
वडाबासीले दिएको सुझाबका आधारमा गाउँपालिकाले जनमुखी बजेट निर्माण गर्ने गरी तयारी गरेको गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन् । स्थानीयबासीको आकाक्षा धेरै हुने तर बजेट र श्रोतको आकार कम हुने हुँदा पनि गाउँ सभाले सवै विषय सम्बोधन गर्न नसक्ने अध्यक्ष गुरुङको भनाई छ ।




