Print

आगामी बर्षको लागि वडाहरुबाट योजना संकलन गर्दै कुश्मा नगरपालिका


१ असार, पर्वत । कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि वडा वडाहरुमा योजना छनौटको प्रक्रिया शुरु गरेको छ । नगरपालिको आगामी आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रम तय गर्नुपूर्व वडाहरुबाट योजनाहरु छनौटको लागि योजना संकलन गरेको हो ।

नगरपालिकाले तोकिएकै समयअवधिमा नगर सभा सक्ने गरी विषयगत समितिहरुको वैठकबाट वडाबाट संकलन भएका योजनाहरुका आधारमा नयाँ बजेट ल्याउनेछ । अहिले कुश्मा नगरपालिकाका १४ वटै वडाहरुमा नगरपालिकाले आगामी बर्ष सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाहरुका संकलन भइरहेको कुश्मा नगरपालिकाले जनाएको छ । वडाहरुमा आफ्नो पायक पर्ने तरिकाले योजना संकलन गरीरहेका छन् ।

वडाहरुमा प्राप्त भएको सुझाबलाई ग्रहण गरेर नगरबासीका आकाक्षा बमोजीमको बजेट ल्याउने गरी कुश्मा नगरपालिकाले तयारी गरेको नगर प्रमुख रामचन्द्र जोशी बताउँछन् । नगरपालिकाका जनप्रतिनिधिहरु वीचको मतभेदका कारण गत बर्ष समयमा पेश हुन नसकेको नीति कार्यक्रम तथा बजेट यस बर्ष भने नगरपालिकाले समयमै ल्याउने गरी तयारी गरीरहेको छ ।

यस अघि नगरपालिकाले प्रत्येक वडाहरुमा पुगेर सार्वजनिक सुनुवाई मार्फत पनि नगरबासीहरुका गुनासा, जिज्ञासा र सुझाबहरु ग्रहण गरेको थियो । नयाँ नीति कार्यक्रम तथा बजेटमा समेत ति गुनासाहरुको सम्बोधन हुने गरी नगरपालिकाले योजना निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।