हरेक व्यक्तिले आफनो आचरणमा सुधार ल्याएर अथवा आफनै पहलमा शान्ति कायम गर्न सक्दछ,जहां कुनै पनि प्रकारको भेदभाव हुंदैन भनेर माथि उल्ल्ेख गरियो । तर सवाल उठ्छ हामीले सोचेजस्तो शान्ति कायम हुन सकेन विभिन्न प्रकारका विवाद र असमझदारी भए भने समाधान कसरी खोज्ने ? हामीले विवाद वा उठेका प्रश्न तथा सवालहरुको सतही रुपमा मात्र बढि जोड दिन्छौं । व्यक्तिले कस्तो व्यवहार गर्दछ । कस्तो व्यवहोरा देखाउंछ । हामी बढि ध्यान यसैमा दिन्छौं तर उसले यस्तो व्यवहार किन प्रदर्शन गर्यो ? यसका पछाडी के कारण होला भन्ने तर्फ ध्यान दिंदैनौं ।
अधिकांश हामी आफनो दुःखमा भन्दा अरुको सुख देखेर बढि दुःखित हुन्छौं । यो हाम्रो समाजको यथार्थ चित्र जस्तै भएको छ । आफूले किन दुःख पाएँ ? कसरी सुख र खुशी पाउन सकिन्छ भन्ने तर्फ हामी कम ध्यान दिन्छौं बरु हाम्रो ध्यान अरुले पाएको सुख र खुशी देखेर डाहा गर्नमै बित्छ ।
आखिर व्यक्तिको व्यवहार उसको दृृष्टिकोणमा निर्भर हुन्छ । उसको दृष्टिकोण जस्तो हुन्छ, व्यवहार कर्म पनि उस्तै हुन्छ । सकारात्मक, सदभावयुक्त धारणा वा दृष्टिकोण छ भने व्यवहार पनि सकारात्मक र सदभावपूर्ण नै हुनेछ । तर धारणा वा दृष्टिकोण नकारात्मक छ भने व्यवहार पनि त्यस्तै हुन्छ । जुन देखिन्छ । गहकिलो पक्ष के छ भने हामीले हरेक व्यक्तिको व्यवहार देख्न सक्छौं । जस्तो व्यक्तिले बोल्ने शब्द वा भाषा, गालीगलौज, उसले गर्ने कुटपिट, वादविवाद, हिंसा र प्रतिशोध देखिन्छ । व्यक्तिले बोल्ने शैली र प्रदर्शन गर्ने व्यवहारबाट उसको मनभित्र उब्जेको अवस्था अनुमान मात्र गर्न सकिन्छ तर देख्न सकिंदैन् । देखिन्छ केवल उसको प्रस्तुती ।
त्यसकारण हामीले व्यक्तिलाई शान्ति तर्फ उन्मुख गराउनका लागि उसको व्यवहार अभिव्यक्तिको आधारभूत सिद्धान्तमा हेक्का राख्नुपर्दछ । हरेक व्यक्तिको व्यवहार सदभावपूर्ण, मित्रवत र विभेदरहित हुनु जरुरी छ । तव शान्ति स्थापना गर्न सकिन्छ ।
व्यक्तिको व्यवहार अभिव्यक्तिको तरिकालाई एउटा त्रिभुजको सहायता लिएर प्रष्ट हुन सकिन्छ ।
त्रिभुजमा तिन कोणलाई व्यवहार, धारणा अथवा दृष्टिकोण र परिवेश गरि तीन भागमा विभाजन गरिएको छ । यसमा व्यवहार मात्र व्यक्तिको देखिने पक्ष हो भने बांकी दुई पक्ष प्रत्यक्ष देख्न सकिंदैन । हामी प्राय देखिने पक्ष अथवा अभिव्यक्त हुने व्यवहारमा मात्र बढि ध्यान दिन्छौं । यी कुराहरु भनेका व्यक्तिका वा कुनै समूहका प्रकट हुने व्यवहार मात्र हुन् ।यस्ता व्यवहारहरु मौखिक र शारीरिक प्रकृतिका हुन्छन ् ।
यस्तो व्यवहारलाई मात्रै हेरेर कुनै दृष्टिकोण बनाईहाल्नु हुंदैन किनभने त्यसको अर्को पाटो पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । उक्त किसिमको व्यवहार गर्नुको पछाडी सम्बद्ध पक्षमा सृजित मनोवैज्ञानिक धारणा वारे मनन गर्नुपर्दछ । व्यक्तिले व्यवहार अभिव्यक्ति गर्दा वा गर्नुपूर्व उसमा घृणा, अविश्वास, शंका र निराशा जस्ता मनोवैज्ञानिक धारणाहरु सक्रिय भएका हुन्छन् । यस्ता धारणाले नै व्यत्ति, वा उसको समूहलाई सो अनुरुप व्यवहार गर्न उत्प्रेरित गर्दछ । घृणा, रिस, घमण्ड,बदलाको भाव, अन्याय भएको अनुभूति, अज्ञानता आदि पनि त्यस्तै मनोवैज्ञानिक धारणाभित्र पर्दछन् । त्यसैले शान्ति प्रकृयामा संलग्न भएर द्धन्द्ध विश्लेषण गर्ने चरण र अवसरमा यस्ता प्रकारका मनोवैज्ञानिक धारणाको विश्लेषण गर्नु अनिवार्य हुन्छ । जव हामी यस्ता अनेक प्रकारका व्यवहार जन्माउने मनोवैज्ञानिक धारणाको विश्लेषण गर्न थाल्छौं, तव मानविय व्यवहारको तेस्रो पक्ष पनि अगाडी आउंछ । तेस्रो पक्ष हो भौतिक, सामाजिक परिवेश । कुनै पनि समाजको वातावरण र त्यसको संरचनाले व्यक्तिका मन मष्तिस्कमा धेरै प्रभाव पार्दछ । त्यस्तो वातावरण अन्तरगत लैङ्गिक, जातीय, आर्थिक र राजनीतिक आधारमा गरिने भेदभाव तथा व्यवहारहरु पर्दछन् । शक्ति उपयोग तथा शक्ति हिनताको अवस्था, मानवअधिकारको प्राप्तीको अवस्था, भौगोलिक वातावरण, सामाजिक सांस्कृतिक परम्पराहरु, श्रोत साधनको बांडफांड आदि परिवेशले व्यक्तिको धारणा तयार गर्न मद्धत गर्दछ । आफू हेलाहोचोमा परेको, अधिकार प्राप्त हुन नसकेको, श्रोत साधनमा पहुंच र नियन्त्रण हुन नसकेको आदि कारणहरुले गर्दा व्यक्तिको धारणा नकारात्मक बन्न सक्दछ । जसका कारण घृणा,अविश्वास, शंका र बदलाको भाव पैदा हुन सक्दछ । यसैको फलस्वरुप व्यक्तिले अनेक व्यवहार देखाउंछ ।
हामीले द्धन्द्धको अन्त्य गरि शान्ति स्थापना गर्ने हो भने हरेक व्यक्तिको व्यवहार अभिव्यक्तिको भित्री तहको गहन विश्लेषण गर्न जरुरी छ । सतहमा देखिएको कुनै पनि प्रकारको प्रस्तुती वा व्यवहारलाई सतही रुपमै थामथुम पार्न खोज्नु अल्पकालिन उपाय मात्र हो ।
यसबाट के प्रष्ट हुन्छ भने हामीले द्धन्द्धको अन्त्य गरि शान्ति स्थापना गर्ने हो भने हरेक व्यक्तिको व्यवहार अभिव्यक्तिको भित्री तहको गहन विश्लेषण गर्न जरुरी छ । सतहमा देखिएको कुनै पनि प्रकारको प्रस्तुती वा व्यवहारलाई सतही रुपमै थामथुम पार्न खोज्नु अल्पकालिन उपाय मात्र हो । किन कि देखिएको व्यवहारको मुल कारण भौतिक सामाजिक परिवेश र त्यसबाट उत्पन्न दृष्टिकोण तर्फ चिन्तन गरेर त्यसलाई सकारात्मक र सर्वस्विकार्य बनाउन सकियो भने मात्र दिर्घकालिन समाधान संभव हुन्छ । तर व्यक्तिको व्यवहार सृजना गर्ने दृष्टिकोण र परिवेशको अध्ययन ईमान्दार पूर्वक गरिनु पर्दछ ।
हाम्रो दैनिकी
अधिकांश हामी आफनो दुःखमा भन्दा अरुको सुख देखेर बढि दुःखित हुन्छौं । यो हाम्रो समाजको यथार्थ चित्र जस्तै भएको छ । आफूले किन दुःख पाएँ ? कसरी सुख र खुशी पाउन सकिन्छ भन्ने तर्फ हामी कम ध्यान दिन्छौं बरु हाम्रो ध्यान अरुले पाएको सुख र खुशी देखेर डाहा गर्नमै बित्छ । अरुले उचाई हासिल गरिरहेकोमा डाहा र ईष्र्या गर्नेहरु त्यो भन्दा उपल्लो शिखर चुम्नमा स्वस्थ प्रतिष्पर्धा गर्नुको सट्टा अरुको उचाई घटाएर आफू भन्दा तल पार्ने÷झार्ने असफल खेलमा लागिरहन्छौं । हामी आफूले गर्न सक्ने काम भन्दा अरुका कामको आलोचना, प्रतिशोध र रिस रागमै समय व्यतित गर्दछौं । अनि मनमा शान्ति र चयन हुंदैन । खटपटी हुन्छ । बैचैनी हुन्छ । अरुको खुशीमा जल्ने चरित्रले अन्तत्वोगत्वा आफनै क्षति गरिरहेको हुन्छ भन्ने नबुझेर त पक्कै होइन तर पनि हामी यसको वशमा परिरहेका छौं ।
कतै श्रोत साधनको अभाव र कतै फालाफाल , कतै सम्मान र सेवा सुविधा कतै विभेद र बहिस्करण, कतै आधिकारिक प्रतिनिधित्व र सहभागिता कतै उपेक्षा र दुरदुर । हामी विच यस्तै कारणहरुले मनमुटाव, अस्वस्थता र वैमनस्यता पैदा गरिदिन्छ । यसरी विजारोपण भएको विवाद र असमझदारीले नै झगडा , द्धन्द्ध र हिंसासम्मको रुप ग्रहण गर्दछ । सानो बिन्दुबाट प्रारम्भ भएको द्धन्द्ध पछि गएर सम्हाली नसक्नुको बन्दछ । आधारभूत तहमै समाधान गर्न पहल गरिएको भए सहजै मिल्न सक्ने विषयले जरा हाल्दै गएपछि व्यक्तिको धारणा र दृष्टिकोण नै फरक बन्दछ र सोही अनुसारका अनेक व्यवहारहरु प्रदर्शित र अभिव्यक्त हुन्छन ।
सारांश
शान्ति आफैंबाट थालनी गर्नुपर्ने यात्रा हो । हामीले आफूलाई शान्त बनाउन सकेका छौं की छैनौं ? हाम्रो मन स्थिर छ की छैन ? हामीले अरुलाई सम्मान गर्न सकेका छौ की छैनौं ? हामीले अरुको पछि नलागेर आफनै वारेमा कति सोचेका छौं ? यी अहम प्रश्नहरुको उत्तर खोज्ने तर्फ लाग्नै पर्दछ । मेलमिलाप, बन्धुत्व र परस्परको सम्बन्ध बिर्सेर नकारात्मकता प्रधान हुँदा सामाजिक सदभाव सहित बाँच्ने चाहना केवल सिद्धान्त मात्र बन्ने खतरामा परेको छ । खाली हात आएको र खाली हात नै जानुपर्ने साश्वत सत्यलाई सम्झेर सुसम्बन्ध, सहयोग, भाइचारा, एकता र सदभाव सहित बाँच्ने कलात्मक पक्ष सबैले मनन गर्न सकेमा मात्र व्यक्ति व्यक्तिबाट शान्ति प्रारम्भ हुनेछ । जसको साझा र समग्र स्वरुप सामाजिक शान्ति बन्नेछ, जसले हामीले लामो समयदेखिको पर्खिरहेको विकासको ढोका खुल्नेछ । सवैले विकासको प्रतिफल पाउनेछन् । त्यसैले व्यक्तिले प्रदर्शन गर्ने व्यवहारको वस्तुगत अध्ययन गरि हरेक व्यक्तिले आफूलाई शान्त, खुशी र सन्तुष्ट बनाउन सक्नुपर्दछ । शान्तिको कामनामा लाखौं बत्ति बाल्नुको सट्टा हरेक व्यक्तिले आफू भित्रको बत्ति बाल्नु र आफैंलाई चिन्नु नै शान्तिको आरम्भ हो । अर्थ वीट साप्ताहिकबाट साभार गरिएको (लेखक रेडियो कुशुमका अध्यक्ष हुनुहुन्छ ।)





प्रतिकृया दिनुहोस्