१९ वैशाख, पर्वत । सुख्ख खडेरीका कारण पानीको मुल सुक्दा कुश्मा बजारको खानेपानी आपूर्तिमा समस्या सृजना भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ।

कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ सय धारामार्फत पानी बाँड्न संस्थाको ट्याङ्कीमा प्रति सेकेन्ड ६० लिटरका दरले पानी जम्मा हुनुपर्दछ ।
खडेरी परेपछि अहिले कुश्माका लागि प्रति २४ घण्टामा भएको २८ लाख ५१ हजार दुई सय लिटर पानीको आपूर्ति भइरहेको छ। तर बजारको माग अनुसार पानी छाड्ने हो भने प्रत्येक २४ घण्टामा ५१ लाख ८४ हजार लिटर पानी संस्थाले जनाएको छ ।

खानेपानीको अभाव हुन थालेपछि समितिले बजार क्षेत्रमा आलोपालो खानेपानीको आपूर्ति शुरुवात गरेको छ ।




