२३ चैत, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ ।
सोमवार राती स्थानीय ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीवार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो खबर लोकतन्त्र अनलाईनले लेखेको छ ।
जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत र म्याग्दीका स्थानीयवासीको ओईरोनै लागेको थियो । विभत्स हत्या भएकोले सागर गएकाहरु कसैका आँखा ओभाना थिएनन् । सवैले निकै ठुलो पश्चाताप व्यक्त गरेका थिए भने अहिलेसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न नसकेको मा गुनासो समेत गरेका थिए । कोरियामा रहेका दुई छोरा बुधवार साँझ आईपुगेपछि बेनी अस्पतालमा रहेका शब पोष्टमार्टम गरेर दाहसंस्कार गरिएको हो ।

दुई छोरा कोरिया, एउटा छोरा म्याग्दीको बेनीका ब्यावसायी । घरमै किराना पसल, खेतीपाती, भैसीपालन गरेर जीवन विताउँदै आएका जिसी दम्पत्ती मिलनसार एवम् सहयोगी भावनाका थिए । जीवनको उत्तरार्दमा आफ्नै दुःखजिलो गरेर खाएका बृद्ध दम्पत्तीलाई हत्यानै गर्नुपर्ने कुनै कारण देखिदैनथ्या,े सागरमा भेटिएका स्थानीय लालबहादुर अधिकारी बताउँछन् । अकल्पनिय र सुन्नै नसकिने घटनाले गाउँनै शोकमग्न बनेको उनको भनाई छ ।
दम्पती हत्या भएको पाँच दिनसम्म पनि दोषि पक्राउ पर्न सकेका छैनन । नेपाल प्रहरीको गण्डकी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको टोली अहिलेपनि गाउँमै अनुसन्धानमा व्यस्त रहेको छ । आफन्त वा शंकास्पद व्यक्तिहरुलाई शोधपुछ गर्ने, वयान लिने र अन्य प्राविधिक कोणवाट अनुसन्धान कार्य जारी रहेको पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिए ।
जिसी दम्पतीलाई लुटेराहरुले नै हत्या गरेको प्रहरीको ठहर छ । गरगहना लुटपाट गर्ने, अन्य सम्पत्ती खोजीका लागि बाकसहरु तोडफोड गर्ने जस्ता घटनाले लुटेराहरुकै समुहले हत्या गरेको प्रहरीको निष्कर्ष रहेको छ ।




