Print

महाशिलाबासीले कानुन मन्त्रीलाई भने -“बाँदर नियन्त्रण गर्ने कानुन बनाउन परयो”


१३ चैत, पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी जनसम्बाद गर्दै पर्वतका गाउँवस्तीहरु डुलिरहेका छन् । सोमबार मात्रै पर्वतको महाशिला पुगेका गिरीलाई त्यहाँका स्थानीयले भने बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराए । मन्त्री गिरीसंग जनप्रतिनिधि र स्थानीयबासीले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेको औल्याए । गाउँपालिका अध्यक्ष इश्वरी भुषाल, पूर्व अध्यक्ष राजु पौडेल, पूर्व वडाअध्यक्ष जीवन उचै ठकुरी र कार्यक्रमका सहभागीको एउटै गुनासो थियो बाँदरले हैरानी दियो ।

बालीनाली सवै खाइदिने भएकाले अहिले गाउँमा खेती किसानी गर्नेको संख्या हराउदै गएको स्थानीय एकबहादुर हमाल बताउँछन् । विदेशीले बनाएको कानुनका कारण जनताले दुःख पाएको प्रदेश सभा सदस्य मित्रलाल बस्यालको भनाई छ । कानुन संसोधन गरेर भए पनि बाँदर नियन्त्रण नगर्ने हो भने किसान सवै विस्थापीत हुने स्थानीयबासीको भनाई छ । कानुनी अड्चनका कारण बाँदर नियन्त्रणको ठोस योजनाहरु स्थानीय तहले निर्माण गर्न सकिरहेका छैनन् ।

केहि बर्ष पहिले महाशिला गाउँपालिकाले बाँदर नियन्त्रण भन्दै बाँदर समात्ने काम गरेको थियो । २५ लाख रकम विनियोजन गरेर बाँदर नियन्त्रणको कार्ययोजना बनाएको महाशिला उक्त काममा सफल हुन सकेन् । अहिले पैयू गाउँपालिकाले बाँदर धपाउने कर्मचारी नै नियुक्ती गर्ने गाउँ सभाबाट निर्णय गरेको छ । बस्तीहरुमा बाँदरले हैरानी दिएपछि संघीय मन्त्रीसंग स्थानीयले बाँदर नियन्त्रणको लागि कानुन बनाउन माग गरेका हुन् ।

स्थानीय जनप्रतिधि र कृषकहरुको आवाज सुने पछि मन्त्री गिरीले अहिले देशभर बाँदरको आतंक नै भएको बताए । उनले कानुनमा भएका समस्याहरुलाई समाधान गरेर बाँदर नियन्त्रणको कार्य योजना बनाउन सरकारको तर्फबाट आफूले पहल गर्ने समेत बताएका छन् ।