२७ माघ, पर्वत । डेढ दशकअघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो । धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे । केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए । रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो बढ्न शुरु भयो । स्थानीय गुफाको संरक्षणमा जुटे । शुरुको दिनमा केही बाह्य पर्यटक गुफामा पुगे पनि प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ । अल्पेश्वर पर्यटक विहिन बन्दा यहाँ पूर्वाधारको अभाव देखिएको छ । यति बेला यहि गुफालाई प्रचार प्रसार गर्न अल्पेश्वर गुफामा हिन्दू बैद्धिक विधि अनुसारको सप्ताहब्यापी महायज्ञको आयोजना गरिएको छ ।
एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । तीन तलाको गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदी खोलामा निस्कन सकिन्छ । गुफामा रहेका ताल तलैया र स–साना झरनाले मन रोमाञ्चित तुल्याउने गर्छ ।
जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको अल्पेश्वर गुफा धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण छ । गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शङ्ख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिने छ ।
सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अल्पेश्वर गुफा पुग्न सकिन्छ । दुई ओटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा–ज्ञादी र खरेहा–अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ आजसम्म कसैको ध्यान गएको थिएन् । यतिबेला महायज्ञ मार्फत गुफाको प्रचार प्रसार र आर्थिक श्रोत ब्यवस्थापनमा स्थानीयबासले लागी परेका छन् ।
बाहिर जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम र प्रेमिल जोडी अग्लो पुलको अवलोकन र मज्जा लिन आउने गर्छन् । तर, उनीहरूलाई छेउमै रहेको गुफासम्म लान सकिएको छैन ।
समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ । त्यहाँबाट मोदी खोला, कालिमाटीको रमणीय डाँडा र बागलुङको भैरवथान मन्दिरसमेत देख्न सकिने छ । गुफामा विभिन्न प्रजातिका २० हजार बढी चमेरा बस्ने गरेको छन् ।
साउनको प्रत्येक सोमवार, शिवरात्रि, बालाचदतुदर्शी मेलालगायत हिन्दू धर्मसँग जोडिएको दिनमा भक्तजनहरुको बाक्लो मात्रामा गुफामा उपस्थिती हुने गरेको छ । प्रकृतिले दिएको अथाह सम्पत्तिलाई राज्यले प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो, त्यसो हुन नसकेको स्थानीयबासीको भनाई छ ।
गुफाको ढाँचा हेरेर उत्तरतर्फ बगिरहेको गङ्गादेखि महादेव शिव प्रकट भई यस गुफामा आएर अल्प भएको किम्बन्दन्तीबाट यस गुफाको नाम अल्पेश्वर राखिएको स्थानीयबासीको भनाई छ ।




