Print

शंकरपोखरीमा खानेपानीको समस्या समाधान हुन्छ : मुख्य मन्त्री पाण्डे

२ माघ, पर्वत । फलेवास नगरपालिका ३ शंकरपोखरीमा शहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवश विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । हरेक वर्ष रचनात्मक कार्यक्रम गरि स्मृती दिवश मनाउँदै आएको हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले यसवर्ष मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुको प्रतिभा प्रदर्शन सहित अतिथीहरु मार्फत सम्बोधन कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शंकरपोखरीमा जटिल रुपमा रहेको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले अहिले सञ्चालनमा रहेको लमाएखोला लिफ्ट खानेपानीको योजनाको काम पुरा गर्ने र अन्य स्थानमा स्रोत खोजेर पानीको समस्या समाधान गर्ने बताए ।

कार्यक्रममा बोल्दै सहिद पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले अहिले पनि फलेवास नगरपालिका–३ शंकरपोखरी पिउने पानीकै अभावमा छटपटाइरहेको बताउँदै तत्कालीन राजा महेन्द्रलाई आफ्ना बुबाले शंकरपोखरीमा पानीको व्यवस्था मिलाइदिन अनुरोध गरेका कुराहरू सुनाएका थिए । आफ्ना भनाई राख्दै मुख्यमन्त्री पाण्डेले वर्षौँ अगाडि राजा महेन्द्रकासामु राखिएको पिउने पानी जस्तो गम्भीर समस्याको समाधान अहिलेसम्म पनि हुन नसकेको भन्दै राजाहरूले गरेको विकासमाथि प्रश्न गरे ।

हरिदत्त तिवारीले राजा महेन्द्र लाई भनेको कुरा पुरा नभएको स्मरण गर्दै पाण्डेले प्रदेश सरकारले राजा महेन्द्रले पुरा नगरेको माग पुरा गर्ने बताए । राजाहरूको शासनकालको तुलनामा अहिलेको विकास निकै राम्रो भएको भए पनि आर्थिक सम्पन्नताको बाटो समात्न भने नसक्दा देश आर्थिक रूपमा बलियो हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए ।

प्रदेशका खानेपानी तथा उर्जामन्त्री एवं सरकारका प्रवक्ता सरस्वती आर्याल तिवारीले पूर्वाधार विकासका काम संगै प्रदेश सरकारले सामाजिक एवं आर्थिक विकासमा पनि उत्तिकै ध्यान दिएको दाबी गरिन । उनले जहाँ समस्या रहेको छ त्यहाँ सरकारले आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले, कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशी, पूर्व सभापति नवराज गुरुङ लगायतले शहिदको स्मरण गर्दै शहिदको सपना पुरा गर्ने जिम्मेवारी सम्पूर्ण राजनैतिक दलहरुको भएको बताएका थिए ।

कार्यक्रम हरिदत्त स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर केसीको अध्यक्षतामा भएको थियो भने स्वागत शहिदपुत्र गिरीजाप्रसाद तिवारी सञ्चालन नेपाली काँग्रेस फलेवास नगरपालिकाका सचिव धनवहादुर थापाले गरेका थिए। विसं १९८७ सालको पुसमा जन्मिएका हरिदत्तको २०६० सालको माघ १ गते राति तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । उनको संझनामा प्रतिष्ठानले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।