Print

मोदीको १४ औं गाउँ सभा सम्पन्न, संसोधित बजेट सर्वसहमत पारित


१ माघ, पर्वत । जिल्लाको १४ औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको मोदी सभाहलमा सम्पन्न गाउँ सभाले चालु आर्थिक बर्षको संसोधित बजेटलाई सर्वसहमत पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेद्धारा प्रस्तुत बजेट गाउँ सभाले सर्वसहमत पारित गरेको हो ।

उपाध्यक्ष लामिछानेले झण्डै डेढ करोड बढि रकमलाई संसोधन प्रस्ताव मार्फत प्रस्तुत गरेका थिए । संसोधित बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै गाउँपालिकाको चित्रेमा सञ्चालीत आवासीय विद्यालयका लागि ७ लाख रकम विनियोजन गरिएको छ । संसोधित बजेटमा लघु उद्यमीहरुको बजारीकरणका लागि हाट बजार सञ्चालन गर्नका लागि ३ लाख रकम संसोधन मार्फत पारित गरिएको छ ।

गाउँपालिकाले अध्यक्षसंग दिदिवहिनी कार्यक्रम र उपाध्यक्षसंग युवा कार्यक्रमको बजेट समेतलाई घटाएको छ । दुवै कार्यक्रमका लागि २५/२५ लाख विनियोजन गरिएकोमा संसोधित बजेट मार्फत ६ लाख घटाइएको छ । उक्त कार्यक्रमहरु सञ्चालनका लागि समेत योजनागत रुपमा बजेट विनियोजन गरिएको छ । संसोधित बजेटमा समपुरक आयोजनाका शीर्षकहरुमा समेत परिर्वतन गरी भौतिक पूर्वाधार आयोजनाहरुलाई पारित गरेको छ ।

गाउँ सभाले न्यायिक समितिको कार्यविधि संबन्धी ऐनलाई संसोधन गर्दै मेलमिलापकर्ताको योग्यतालाई संसोधन गरेको छ । संशोधित ऐनमा मेलमिलापकर्ताको उमेर हद १८ बर्ष र शैक्षिक योग्यता आधारभूत तह कायम गरिएको छ । उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लामिछानेले संसोधित ऐन गाउँ सभामा प्रस्तुत गरेका थिए ।

गाउँ सभाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७५ लाई समेत सर्वहमत पारित गरेको छ । शिक्षा समितिका संयोजक सुकबहादुर गुरुङले प्रस्तुत गरेको उक्त ऐनलाई गाउँ सभाले पारित गरेको हो ।

गाउँ सभाले मोदी २ का वडा सदस्य जीतबहादुर पुनको मृत्यु प्रति सभाले दुःख ब्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको छ । गाउँ सभा अध्यक्ष हिरादेवी शर्माले गाउँ सभासम्पन्न गर्ने सवैलाई धन्यवाद ब्यक्त गरेकी थिइन ।