२२ पौष, पर्वत । नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले वर्तमान सरकारले संघीय निजामति कर्मचारी ऐन ल्याउन नचाहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन पर्वतको जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पर्यटकी गाउँ भुकदेउरालीमा सम्वोधन गर्दै नेता ज्ञवालीले निजामती ऐन कार्यान्वयनमा नल्याउँदा प्रशासनिक क्षेत्रमा समस्याहरु पैदा हुँदै गएको बताए । उनले मुलुक संचालनमा कर्मचारीहरुको महत्वपुणर् भूमिका रहेको उल्लेख गर्दै सरकारले तत्काल सदनमा लगेर निजामती ऐन पारित गराउनुपर्नेमा जोड दिए ।
सरकारकै ढिलाईका कारण लामो समयदेखि यो ऐन रोकिएको बताउँदै वर्तमान सरकार कर्मचारीको मामिलामा अनुदार रहेको दावी गरे । उनले निजामति सेवा तथा शिक्षा ऐन लगायतका विधेयकहरु थन्क्याएर राखेको आरोप लगाउँदै यसले संघीयतालाई समेत असर पुर्याएको बताए । ‘आम कर्मचारीहरुको मनोवल बढाउनका लागिपनि तत्काल यो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्छ’ उनले भने ।
ऐन कार्यान्वयनमा नआउँदा प्रदेश सरकारहरुले संघीयताको अभ्यास गर्न समेत नपाएको बताउँदै नेकपा एमालेले पटक पटक संसदमा उठाउँदा समेत सरकारले चासो नदेखाएको बताए । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरूप संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण हुन नसक्नु आश्चर्यको विषय रहेको बताउँदै ज्ञवालीले गठवन्धन सरकारलाई सत्ता टिकाउने बाहेक अन्य कुनै योजना नरहेको ठोकुवा गरे ।
पूर्व मन्त्री समेत रहनुभएका ज्ञवालीले आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेले सवै पदमा उम्मेवार उठाउने बताए । टिआरसि विधेयक पास गर्ने नाममा राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न खोजिएको बताउँदै प्रधानमन्त्री प्रचण्डको विश्वासमा लागेर एमालेले कुनै सहमति र सम्झौता नगर्ने समेत दावी गरे । नेकपा एमाले सरकारको खेलमा भन्दा पनि पार्टी मजबुत बनाउनतर्फ लागेको बताउँदै ज्ञवालीले २०८१ साललाई शुद्धिकरण वर्षको रुपमा मनाउन तयारी गरेको बताए ।
कार्यक्रममा एमाले प्रमुख सचेतक पदम गिरी, निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला, नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश सांसद भक्त कुँवर, मित्रलाल बस्याल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायतले आफ्नो विचार राखेका थिए ।
निजामती कर्मचारी संगठन पर्वतका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब दिपक सुवेदीले गरेका थिए ।




