२८ कार्तिक, पर्वत । सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा भेटिएकी विष्णुमती नेपाली चिन्तित देखिन्थीन । हातमा सयपत्री फूलका माला लिएर बजार घुमीरहेकी विष्णुमतीको अनुहारमा चमक थिएन । तिहारको रमझमका वीच कुश्मा बजारमा हातमा फुलका माला लिएर उनी हिडिरहेकी थिइन् ।
विगत १४ बर्ष देखि फूलको ब्यापार गर्दै आएकी विष्णुमती चर्को चर्को स्वरमा कराईन –‘लौ माला आयो, माला आयो’ विष्णुमतीले माला आएको खबर सुनाएर पछि एउटा घरबाट एक जना महिला निश्किएर सोधिन, कति मूल्य हो ? विष्णुमतीले पिडाभावमा भनिन् १ सय ५० ।
प्रत्येक बर्ष फूलको ब्यापार गर्ने विष्णुमतीले गत बर्ष ३ सयमा एउटा माला वेचेकी थिइन् । यो बर्ष उनको मालाको मूल्य घटेको छ । १ सय ५० मा विक्रीका लागि बजार घुमेकी विष्णुमतीले १ सय रुपैंयासम्ममा माला वेचकी छन् । गत बर्ष २५ हजारसम्म आम्दानी भएको थियो । उनले भनिन–‘यस बर्ष १० हजार पनि आम्दानी होला जस्तो छैन ।’
पर्वतको कुश्मा नगरपालिका वडा न १ खुर्कोटकी बिष्णुमती भन्छिन –‘अहिले फूलको ब्यापार गर्नेको संख्या बढेको छ ।’ विष्णुमतीले भने जस्तै पर्वतमा पछिल्लो समयमा फूलको उत्पादन बढेको छ । उत्पादन बढेसंगै फूलकोे मूल्य पनि घटेको छ ।
ब्यवसायीक रुपमा फूलको ब्यापार गर्नेहरुको संख्या बढेसंगै फूलको ब्यापार घटेको हो । यसले मूल्यमा असर गरेको छ । केहि बर्षपहिलेसम्म अरु जिल्लाबाट फूल निर्यात गर्नुपर्ने कुश्मामा अहिले फूलको उत्पादन बढेसंगै फूलमा पर्वत आत्मनिर्भर भएको उद्योग बाणिज्य संघका गण्डकी प्रदेश उपाध्यक्ष केदारनाथ शर्मा बताउँछन् ।
पछिल्लो समय फूलको ब्यापार गर्नेको संख्या बढेको छ । विहादी गाउँपालिकामा मेघनाथ भट्टराईले पनि ब्यवसायीक पुष्पब्यवसाय शुरु गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा उत्पादन बढेको छ । तिहारको समयमा जिल्ला बाहिरबाट भित्रिने सवै प्रकारका फूल र मालालाई जिल्ला प्रशासन कार्यालयले पनि आयातमा रोक लगाएको छ ।




