Print

कालीगण्डकी लोकमार्गमा थपियो मोटरेवल पुल, कुश्मा–मिर्मि यात्रा सहज

२६ कार्तिक, पर्वत । कुश्मा देखि पाल्पा, बुटवल यात्राको दुरी क्रमशः घटाउदै लगेको कालीगण्डकी लोकमार्गमा थप मोटरेवल पुल निर्माण भएको छ । लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि यात्रा थप सहज भएको हो ।

पर्वत सदरमुकाम कुश्मा बजार देखि गल्याङ, पाल्पा, बुटवल, र भारतको सिमाना सुनौली जान सबैभन्दा छोटो मानिएको कुश्मा–बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि यात्रा सहज भएको हो ।

कालीगण्डकी लोकमार्गअन्तर्गत गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने सेतीवेणी–मिर्मी सडक खण्ड १० किलोमिटर दूरीमा अवस्थित छ । यही सडक खण्डलाई जोड्ने गरी रायमाझी-राजेश्वरी-पिटिआर अधिकारी जेभीले आँधीखोलामा ट्रस ब्रिज निर्माण गरेको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिएको खबर कालीगण्डकी खबरले प्रकाशीत गरेको छ। पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपैंयाको लागतमा सम्पन्न भएको हो ।

अहिले स्याङजा–पर्वत खण्डको सडक निर्माणले तीव्रता पाएको छ । स्याङजा–पर्वतको ५३ किलोमिटरमध्ये सेतीवेणी–मिर्मी सडकको काम महादेव खिम्ती-आन्जना-पराजुली जेभी लम्जुङले निर्माण जिम्मा लिएर अगाडि बढाएको छ । निर्माण कम्पनीले सडक चौडा, नाली निर्माण, तेवा पर्खाल र कालोपत्र गर्ने गरी २०७७ साल भदौ १२ गते सझौता गरेको थियो । साढे दुई वर्षमा सक्ने गरी १ करोड ९८ लाख छ हजार एक सय ९० मा ठेक्का सम्झौता भएको छ ।

विष्फोट गरेर बाटो निर्माण गर्नुपरेकाले काममा ढिलाइ भएको र एक वर्ष समय थपेर काम अगाडि बढाएको निर्माण कम्पनीले जनाएको छ । मिर्मी सेतीबेनी सडककै तीन किलोमिटर सडक निर्माण काष्ठमण्डप-कली-मनकामना जेभीले र आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ ठेक्का सम्झौता गरेको हो ।