२५ कार्तिक, पर्वत । कुश्मा बजार दुई नदीको किनारमा छ । उत्तर पूर्व क्षेत्रबाट बगेको मोदी र उत्तरबाट बगेको कालीगण्डकी । दुई नदीले दोभानमा पारेको कुश्मा बजार । कुश्मा सुन्दर नगरी हो । कुश्मा बजार प्राकृतिक सुन्दरतामा विश्व बजारको स्विजरल्याड भन्दा कम छैन । देशमै बढि पर्यटक आउने पोखरा र घुम्नेहरुको रोजाईको मुस्ताङको समिपमा छ, कुश्मा । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले छोएको कुश्मा एउटा ब्यवस्थित नगरी पनि हो ।
केहि समय पहिला ब्यवस्थित होटलको अभाव अहिले टरेको छ । यहाँ अत्याधुनिक सुविधा सहितका होटल तथा रिर्सोट सञ्चालनमा छन् । शैक्षिक भ्रमणका दैनिक हजार बढि विद्यार्थीहरु आउने गरेको कुश्माले विकास नमुनाको एउटा पाठ सिकाएको छ ।
पर्यटनले धानिएका विदेशका कयौ देशको सिको नेपाल गर्नसक्छ भन्ने सन्देश कुश्माले दिएको छ । साहसिक खेलहरुको भण्डारण छ कुश्मा समिपमा ।
बैद्धिक धर्मशास्त्रको निकै पवित्र नदी कालीगण्डकी कुश्मा समीपमा सुसाइरहन्छ । उर्जा नदी मोदीले असला माछा उत्पादन गरेकै छ । शान्त, रमणीय र सुन्दरताले भरिएको पर्वतलाई हिन्दुधर्म शास्त्रले पवित्र स्थलको रुपमा ब्याख्या गरेको छ ।
कुश्मा आउनेको पहिलो रोजाई अग्लो पुल हुन्छ । नेपालकै पहिलो अग्लो पुल कुश्मामा निर्माण भएको हो । बन्जी र जीपलाईले कुश्मालाई आकर्षक गन्तब्य बनाएको छ । बन्दै गरेको शिव पार्वतिको मुर्तिको काम छिटो सकिदा यसले धार्मिक पर्यटनको उत्कर्ष विकास गर्नेछ ।
पोखरा घुमेपछि कुश्मा नघुमेसम्म अचेल स्वदेशी पर्यटक घर फर्किदैनन । मुस्ताङ र ढोरपाटन जाने पर्यटक कुश्मा नपुगि घरमा फर्किदैनन । अन्नपूर्ण वेसक्याप र घान्द्रुक पुग्नेहरु पनि अचेल कुश्मालाई विशेष गन्तब्य बनाउन थालेका छन् ।
देश विकासको जग पर्यटन हो । राज्यले त्यो कुराको अनुभव गरेको खण्डमा कुश्मा बजारले पाएका गहिरा खोचमा रमाउन विदेशीहरुको लर्को लाग्नेछ । गहिरा खोचमा दबिएका गहिरा सम्भावनाहरु राज्यले देख्नुपर्छ जनताले चिन्नुपर्छ । (पर्यटन विश्लेषण)




