१ भदौ, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ५ लेकफाँट स्थित कुवाँकोपानी च्यानडाँडा भन्ने स्थानको ठूलो पहाड चिरिएको छ । लेकफाँट स्थित उक्त पहाड चिरिएर निरन्तर बर्षातको समयमा पहिरो बग्न थालेपछि जलजला २ माझफाँटको सिंगो बस्ती नै जोखिममा परेको छ ।
‘पहाडको वीच भागबाट चिरा परेको छ’ जलजला २ का वडाअध्यक्ष प्रकाशबहादुर क्षेत्रीले भने–‘पहिरोका कारण जुनसुकै बेला पनि ठूलो क्षति हुनसक्छ’ चिहान डाँडाको पहाडको धेरै भाग चिरिएर उक्त भागबाट बर्षातको बेलामा पहिरो बगिरहेको छ । यस अघि पानीको श्रोत नदेखिएको उक्त स्थानमा निरन्तर पानी समेत बगिरहेको र त्यसले धेरै खेतबारीहरु अहिले पुरीसकेको छ । पहिरोका कारण स्थानीय सडकको अधिकांश भाग पुरेको छ ।
बर्षात नरोकिदा पहिरो निरन्तर गएको छ । स्थानीय लालबहादुर अधिकारी भन्छन–‘स्थानीयबासीले रातको समयमा जागाराम बस्नुपरेको छ ।’ वडा र गाउँपालिकाको समन्वयमा पहिरोको नजिकै रहेका वस्तीका स्थानीयलाई रातको सुरक्षित स्थानमा राखिएको छ । अहिले पनि बर्षातको समयमा पटक पटक बाढि आउने गरेका कारण धेरै भागमा माटोको ढिक्सोले पुरेको छ ।
यसै वीच प्रतिनिधि सभाका सदस्य पदम गिरीले उक्त पहिरोग्रस्त स्थलको निरिक्षण गरेका छन् ।

एमाले प्रमुख सचेतक समेत रहेका पूर्व स्वास्थ्य मन्त्री गिरीले पहिरो स्थलको निरिक्षण पछि भुर्गव विदको टोलीले जमिनको अध्ययन गरेपछि यसको रोकथामको योजना बनाउन सकिने बताए । उनले तत्काल अध्ययन टोली फिल्डमा पठाउने र उक्त स्थानको भुर्गवीय अध्ययन पछि पहिरो नियन्त्रणका विधिहरु अपनाउने गरी योजना बनाउनुपर्ने धारणा राखे ।




