१ साउन, पर्वत । नयाँ आर्थिक बर्ष आजबाट शुरु भएको छ । नयाँ आर्थिक बर्ष शुरु भएपनि यो बर्षको लागि पर्वत जिल्लाका २ नगरपालिकाले बजेट अहिलेसम्म पनि ल्याएका छैनन् । असार १० गते गर्नुपर्ने नगरसभा कुश्मा नगरपालिका र फलेवास नगरपालिकाले अहिलेसम्म पनि सम्पन्न गर्न सकेका छैनन् । कुश्मा र फलेवास नगरपालिकामा जनप्रतिनिधिहरु वीच विवाद हुँदा नगरसभा अहिलेसम्म पनि सम्पन्न हुन नसकेको हो । यहि वीचमा इलालटिन अनलाईनले बजेट निर्माण प्रक्रियामा फलेवास नगर उपप्रमुख सहभागी नै नभएको समाचार प्रकाशित गरेको छ ।
अनलाईनमा प्रकाशित समाचार अनुसार फलेवास नगरपालिकाकी उप–प्रमुख शोभा कुमारी क्षत्रीले आफू बजेट निर्माणमा सहभागी नरहेको बताइन् । उनले बजेट कार्यपालिकामा ल्याउनु अघि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा उप–प्रमुख सदस्य रहने व्यवस्था रहेको भए पनि नगर प्रमुख गंगाधर तिवारीले आफूलाई सहभागी नगराएकोमा दुःख व्यक्त गरिन् ।
“मैले कृषि र किसानका लागि कार्यक्रम ल्याएको थिएँ तर बन्दै गरेको बजेटमा त्यो समावेश गरिएन । किसानको घरघरमा पुग्ने बजेट परेको छैन । बजेट निर्माण प्रक्रियामा समावेश गराइएको छैन ।”, गठबन्धन दलबाट निर्वाचित उप–प्रमुख क्षत्रीले भनिन् । “बाटोघाटो र ठुला भौतिक निर्माणका कामहरू त सङ्घीय सरकारको बजेटले काम भइहाल्छ नि रु हामीले त कृषि क्षेत्रलाई हेर्ने हो । म किसानी पृष्ठभूमिबाट चुनाव जितेर आएकी हुँ त्यसैले किसानको समस्या र उनीहरूको फाइदाको बारेमा बोलिन भने अरू कसले बोल्छ रु”, उनले भनिन्, “कृषिमा लगानी गरे अनुसार आम्दानी छैन ।
युवाहरू विदेश पलायन भइरहेको छन् । उनीहरूलाई गाउँमै रोक्न पनि कृषिमा आधारित कार्यक्रमहरू नगरले ल्याउन सक्नु पर्ने भए पनि मेयरले गर्न चाहनु भएन ।”
उप–प्रमुख क्षत्रीले पहिला किसानको पक्षमा धेरै राम्रा कामहरू भएको दाबी गरिन् । उनका अनुसार अहिले किसानले विभिन्न शीर्षकमा पाउने अनुदानहरू कटौती गरिदिँदा किसानले गाईबस्तु स्याहार्न खर्चिलो भएपछि हिजोआज छाडा छाड्नु पर्ने स्थित आएको समेत बताइन् । उनले बजेट आउन नसक्नुमा चाहिँ आफ्नो माग नभई काँग्रेस र एमालेको कारण रोकिएको बताइन् । नगर कार्यपालिकामा उनी माओवादीबाट एक्ली सदस्य हुन् ।




