२ मंसीर, पर्वत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि पर्वत जिल्लाको निर्वाचनका सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा संयन्त्र र आवश्यक सामाग्रीहरुको ब्यवस्थापन सम्बन्धित मतदान स्थलमा भईसकेको कार्यालयले जानकारी दिएको हो ।
निर्वाचनका लागि खटिएका सवै कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रहरुमा पुगिसकेका छन् भने सुरक्षा संयन्त्र पनि परिचालित भईसकेको छ । निर्वाचनलाई मर्यादीत बनाउनका लागि सवै प्रकारको सुरक्षा संयन्त्र परिचालित गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
यसै वीच गत राती देखि दल र उमेदवारले प्रचार प्रसार गर्न नपाउने गरी स्थिर अवधि लागू गरिएको छ । यो अवधिमा दल र उमेदवार वा अरु कार्यकर्ताले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट पनि कुनै पनि उमेदवारको पक्ष र विपक्षमा मत माग्न पाउने छैनन् । स्थिर अवधि शुरु हुनु अघि जिल्लाका कतिपय उमेदवारहरुले मध्य रातमा नै सामाजिक सञ्जालबाट अडियो, भिडियो र अन्य पत्रचारको माध्यमबाट मत मागेका थिए ।
पर्वत जिल्लामा मुख्य गरी प्रतिनिधि सभामा एमालेका पदम गिरी र कांग्रेसका अर्जुन जोशी वीच प्रतिस्पर्धा हुँदैछ भने प्रदेश सभा १ मा एमालेका भक्त कुँवर र माओवादीका सुदीप कुँवर वीच प्रतिस्पर्धा हुँदैछ । यसैगरी प्रदेश सभा २ मा भने एमालेका मित्रलाल बस्याल र कांग्रेसका ऋषीकेश तिवारी वीच प्रतिस्पर्धा हुँदैछ ।




