Print

जिविस पर्वतका पूर्व उपसभापति भन्छन् : “दक्षिण पर्वतको विकासमा अवरोध यसरी भएको थियो”

१ मंसीर, पर्वत । निर्वाचनको संमुखमा जिल्लाको विकास आयोजनाहरुको जस लिने होडबाजी चलिरहेको छ । विकास आयोजनाहरुमा जस लिने र आफ्नो पक्षमा मत माग्ने क्रमबढिरहेको बेलामा जिल्ला विकास समिति पर्वतका पूर्व उपसभापति टिकाराम भुषालले विकास आयोजनाको बारेमा केहि नयाँ खुलासा गरेका छन् । उनले २०५२ सालमा दोबिल्ला फलेवास सडक खन्न आएका ठेकेदारका गैची बेल्चा खोसीएको खुलासा गरेका छन् । यो सडक जिल्लाको सवैभन्दा पुरानो सडक हो । तत्कालीन तरुण दलको नेतृत्वमा सडक खन्न अवरोध गरिएको भुषालको भनाई छ ।

२०५२ सालको जिल्ला सभावाट सर्वसम्मतिले स्वीकृत बडागाउँचौर– मोदिवेनी–फलेवास सडकको लागि छुट्याईएको रू १६ लाख कार्यान्वयनमा पनि अवरोध भएको उनले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सडक निर्माणको लागि गठन भएको सर्वदलिय उपभोक्ता समितिलाई तत्कालीन जिविस सभापति यामप्रसाद गुरुङले आफ्ेनो पाटीको ह्वीका कारण काम गर्न नदिइएको उनको भनाई छ । जिविस सभापतिले कार्यान्वयन गर्न नदिई रोकि राखेको रकम २०५४ सालमा दोविल्ला फलेवास सडकको मल्याङ्दी खोला मुडिकुवा खण्डको सडक निर्माणमा खर्च गरिएको थियो उनले उल्लेख गरेका थिए ।

जिल्ला विकास समितिले २६ वर्ष पहिले जोड्न खोजेको मुडिकुवा मोदिबेनी कुश्मा सडक जिल्लामा १८ बर्ष एउटै ब्यक्ति सांसद हुँदा पनि सडक नजोडिएको उनको भनाई छ ।  उक्त सडक पछिल्लो ५ बर्षको अवधिमा सम्पन्न भएको छ । कुश्मा मोदीबेनी फलेवास सडक पहिले बनेको भए दक्षिणी भेकमा आउने सबै सडक यहि सडकसंग जोडिएर खनिने थिए, फलेवास मुख्य व्यापारिक केन्द्र बन्ने भुषालको टिप्पणी छ ।

पञ्चायत कालमा नै जुग्लेसम्म खनिएको नाउडाडा– कार्किनेटा– कुश्मा सडक निर्माणमा ०५६ सालमा स्याङ्जावाट निर्वाचित एमाले सांसद हितकाजि गुरूङ् अहोरात्र खटिएर निर्माण गरे तर पर्वतका तत्कालीन अवस्थामा निर्वाचित सांसदले सहयोग नगरेको भुषालले उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘कार्किनेटा–घण्टे–लुखु–बालाकोट÷कुर्घा÷सिम्ले सडक एमालेका जनप्रतिनिधि हरूले रगत पसिना बगाई गाविसको विकास अनुदान र जनतासंग रकम उठाएर सडक निर्माण गरे । सो सडकका पक्षमा १८ वर्ष सांसद भएका कांग्रेसका नेताले कहिल्यै एक शब्द बोल्न आवश्यक ठानेनन् ।’

२०५४ सालमा निर्वाचित एमाले नेतृत्वको जिल्ला विकास समितिले ज्ञाँदीसम्म डोरो पुगेको दोविल्ला– फलेवास सडकको निर्माण कार्यलाई अगाडि बढाउन डिटेल सर्भे गर्न प्राविधिक खटायो । त्यो प्राविधिक टोलिले घोयनेलामा घुम्ति नहालि तिवारीको गाउँ भएर सिधै मुडिकुवा निकाल्न उपयुक्त हुने सुझाव दियो । तर तत्कालीन अवस्थामा राजनैतिक अगुवाहरुकै कारण घोयनेलामा सडक असजिलो र खर्चिलो मात्रै भएन फलेवासमा मोटर पुग्न धेरै ढिलो भएको भुषालको दावी छ ।

दोविल्ला फलेवास सडकको मोदीखोलामा पुल निर्माणको लागि सत्ता पक्षका सांसदले सहयोग नगरेको बरू ट्रस ब्रिज वनाउँदा रामचन्द्र पौडेल मार्फत सरकारी सहयोग पाउन राम शर्माको सहयोग रहेको उनले खुलासा गरेका छन् ।

विकास आयोजनाहरु समयमा शुरु नगर्दा दक्षिण पर्वतका बासिन्दाले धेरै दुःख पाएको भुषालको ठहर छ । सत्तामा हूँदा जनप्रतिनिधिहरुले समग्र विकासको खाका कोरेर समयमै सडक आयोजनाहरु शुरु गरेको भए, कुश्मावाट सिधै मुडिकुवा आउने मोटर वाटो र जुग्ले कार्किनेटाको सडक पहिले खनिएको भए दक्षिण पर्वतका लागि पर्वत भित्रैवाट निकास हुने निश्चित थियो । तर दुरभाग्य जनप्रतिनिधिहरुको वेवास्तापनले पर्वतका बासिन्दा स्याङजा जिल्ला हुँदै यात्रा गर्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।

आगामी निर्वाचनमा दक्षिण पर्वतको विकासमा अवरोध गर्नेलाई होइन् विकास आयोजनामा सहयोग गर्नेलाई मतदान गर्न समेत उनले अनुरोध गरेका छन् ।