२७ कार्तिक, पर्वत । मानव विकास सुचांकमा अग्रस्थानमा देखिने पर्वत औसतमा विकास दृष्टिकोणले भने पछि परेको छ । सानो जिल्लालाई विकासको उत्कर्षमा पुराउन सकिने प्रसस्त सम्भावना रहे पनि यहाँको विकास निर्माणको कामको थालनी भने ढिला गरी शुरु भएको छ । १२ बर्षे शसस्त्र युद्ध, त्यसपछिको १ दशक संविधान निर्माणको प्रक्रियामा विकासले गति लिन सकेन् । प्रजातन्त्रको पुर्नस्थापना पछि बनेका सरकार र जनप्रतिनिधिहरुले पनि उल्लेखय विकास निर्माणका कामहरु भने गर्न सकेनन् ।
२०४९ सालमा भएको आम निर्वाचन, त्यसपछिका क्रमशः ०५१, ०५६, ०६४, ०७० र ०७४ साल गरी ६ वटा निर्वाचनहरु भए । पर्वतबासीको अपेक्षाकृत परिर्वतनका मुद्दा कुनै पनि दलका नेताहरुले बोक्न नसकेको स्वय्म जिल्लाबासीको यो अवधिसम्म आभास भईरह्यो ।
निर्वाचनको पछिल्लो ५ बर्ष अर्थात २०७४ सालमा संविधान बनेपछिको पहिलो आम निर्वाचन भयो । त्यो निर्वाचनमा निर्वाचित मध्ये प्रतिनिधि सभाका उमेदवार पदम गिरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचनको मैदानमा छन् ।
५ बर्षे कार्यकालमा २ पटक संसद विघटन, आफ्नै पाटीको टुट र फुट, सरकार परिर्वतन अनी कोरोना संक्रमणको अप्ठ्यारा अवस्थाहरु ब्यहोरेका गिरीलाई दोस्रो पटक संसद छिर्ने अवसर छ । उनीसंग ३ पटक निर्वाचन जितेका अर्जुन जोशी पाँचौ पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
गिरी दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेपछि उनको ५ बर्षे कार्यकालको भने पर्वतबासीले समिक्षा गर्ने अवसर पाएका छन् । औसतमा विकास निर्माणको कामले तिव्र गति लिएको पछिल्लो ५ बर्षको अवधिमा पर्वत जिल्लाका सुख र दुःखका आवाजहरु संसद भवनमा सांसद गिरीले पटक पटक गुन्जाईरहे ।
सांसद गिरीले संसद भवनमा मध्य पहाडी लोकमार्ग अन्तर्गतको पोखरा बागलुङ सडक खण्डको कामको ढिलासुस्तीको विषयमा संसदमा आवाज उठाए । स्वय्म सांसद नै ठेकेदार रहेको यस सडक खण्ड निर्माण कार्य झण्डै ६ महिना देखि अवरुद्ध थियो । निर्माण कार्यको ढिलासुस्तीका कारण सडक सम्पन्न अवस्थामा थिएन् । गिरीले संसद भवनमा विषय उठाएपछि भने सडकको कामले गति लियो र हाल उक्त आयोजना सम्पन्न भएको छ ।
गिरीले फलेवास नगरपालिकाका भंगराकी सिता केसी लामो समय देखि बेपत्ता भएपनि उनको खोजी कार्यमा सरकारले वेवास्ता गरेको भन्दै खोजी कार्य गर्न माग गरे । लगतै सुरक्षा प्रशासनले उनको खोजी कार्य शुरु गरेको जानकारी गराएको थियो ।
गिरीले कुश्मा नगरपालिका वडा न १ पाङको लिप्टीङ सिंचाई आयोजनाको विषयमा सरकारसंग मागपत्र राखे । बजेट उपलब्ध गराएर उक्त क्षेत्रमा कालीगण्डकी नदीको पानी लिप्ट गरी सिंचाई गर्ने बृहत आयोजना सञ्चालन गरी पाङको समथर जमिनमा आधुनिक कृषि उत्पादन गर्न उनले माग गरेका थिए ।
संसद वैठकमा सधै सशक्त र खरो बक्ताको पहिचान बनाएका गिरीले कालीगण्डकी लोकमार्ग सडकमा बजेट थप र कालोपत्रेको लागि माग गरे भने कालीगण्डकी नदीको कटानबाट उच्च जोखिममा रहेका वस्तीहरुको संरक्षणको लागि पनि आवाज उठाए । सेती खोला र मोदी खोला तटबन्धनको लागि बजेट माग गरे ।
मिलन चोक लेकफाँट शालिजा, पातिचौर बाजुङ क्याङ, दोविल्ला पकुवा आर्थर, रतीखोला दराक चित्रे, फलेवास रिङरोड लगाएतका सडकहरुको ठेक्का प्रक्रिया शुरुवात गरी कालोपत्रे गर्ने कार्य छिटो गर्न माग गरे ।
धाइरिङमा करेण्ट प्रवाह भएको परिवार, दुर्लुङ, लस्तीखोला, दोविल्ला र मुडिकुवाका बाढि तथा पहिरो पिडितलाई क्षतिपूर्ति र राहतको लागि सदनमा गिरीले आवाज उठाए ।
रासायनीक मलको अभाव भएको बेलामा कृषकलाई मलको अभाव हुन नदिन माग गरे भने इसिडि पढाउने शिक्षिकाहरुको तलब मान न्यूनतम ज्यालाभन्दा पनि कम भएको भन्दै यसको बृद्धिको लागि संसद भवनका जोडदार आवाज उठाए ।
कोभिडको समयमा बन्द अस्पताल सञ्चालन गरी सेवा नियमित गर्न माग गर्दै गिरीले संसद भवनबाटै पर्वत अस्पतालमा आइसियू र प्राविधिक सेवाहरु सञ्चालनको लागि सरकारको ध्यानाकर्षण गराए । उनले कोभिडको बेलामा आफ्नो पारिश्रमिक वापतको ३ महिनाको तलब दिएर कोभिड अस्पताल सञ्चालनको लागि पहिलो पहल कदमी समेत लिए ।
सांसदको कार्यकाल मध्ये २ बर्ष कोरोना कालमा वित्यो । बाँकी ३ बर्ष गिरीले संसदमा अग्रमोर्चामा रहेर राष्ट्रिय राजनीतिको पक्ष र विपक्षमा आफ्नो विचारहरु राखे । विगत ५ बर्षको अवधिमा गिरीले गरेका अधिकांश वाचाहरु मध्ये केहि बाँकी रहे पनि केहि पुरा हुने प्रक्रियामा रहेका छन् । निर्वाचनमा जनताले यस अघिको भूमिकालाई समेत समिक्षा गरी मतदान गर्ने भएका कारण गिरीको ५ बर्षे कार्यकाल औसतमा उपलब्धिमूलक रहेको र जिल्लाको स्वभाविमान राष्ट्रिय राजनीतिमा उचो नै रहेको विश्लेषण गर्न सकिन्छ ।
आजको अर्थ वीट साप्ताहिकमा खबर छ ।




