Print

१८ बर्षमा सम्भव नभएको पर्वतको विकास ५ बर्षमा कसरी सम्भव भयो ?

१५ कार्तिक, पर्वत । देश यतिबेला निर्वाचनमय भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा उमेदवारहरु मतदाता रिझाउन ब्यस्त छन् । आगामी मंसीर ४ गते हुने निर्वाचनको प्रचार प्रसारका लागि उमेदवारहरु ब्यस्त देखिएका छन् । दलहरुका नेताहरुको ब्यस्तताका माझ उमेदवारहरु मत माग्नका लागि जनताको घरदैलोमा पुगिरहेका छन् ।

यसै वीच दुई उमेदवार वीच मतदाताहरुले तुलना गर्ने अवसर प्राप्त गरेका छन् । प्रतिनिधि सभामा दुवै अनुहार मतदाताहरुका लागि पुराना हुन भने प्रदेश सभामा सवै अनुहार नयाँ उठेका छन् । मुख्य गरी निर्वाचनमा एमाले र गठबन्धनका वीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिनिधि सभाका उमेदवार एमालेका पदम गिरी र कांग्रेसका अर्जुन जोशी छन् । दुई जना नै यस अघिका पूर्व सांसद हुन् । जोशी पर्वतबाट ३ पटकसम्म प्रतिनिधि सभा र संविधान सभामा निर्वाचित भइसकेका नेता हुन् । उनी २०५६ सालमा पहिलो पल्ट पर्वत क्षेत्र न १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । त्यसको ८ बर्ष पछि भएको अर्को आम निर्वाचनमा २०६४ सालमा उनी निर्वाचित भए भने २०७० सालमा पुनः ह्याट्रिक गर्दै प्रतिनिधि सभामा निर्वाचित भयो । चौथो पटक २०७४ सालमा भने जोशी पराजीत भए ।

जोशीको यो अवधि गणना गर्दा कुल १८ बर्षको अवधिमा उनी क्षेत्र न १ बाट प्रतिनिधि सभाका सांसद पदमा रहे । यो अवधिमा एकछत्र संघीय सरकारको प्रतिनिधिको रुपमा रहेका जोशी र २०७४ सालको निर्वाचनमा निर्वाचित पदम गिरी वीच पुनः निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।

गिरी २०७४ सालमा निर्वाचित भएपछि निर्वाचनको ४ महिना पछि मात्र संसद भवन छिरे । संसद भवन छिरेको ५ बर्षमा पर्वत जिल्लामा भएका परिर्वतन प्रति उनले गर्भ गर्दै आइरहेका छन् ।

जोशी सांसद रहँदा जिल्लामा कुनै पनि ठूला पूर्वाधारका कामहरु नभएको एमाले कार्यकर्ताहरुको ठम्माई छ । उता, जोशीले भने आफ्नो कार्यकालमा द्धन्द्धको समय भएका धेरै कामहरु गर्न नसकेको बताउँदै आइरहेका छन् । छिमेकी जिल्लाहरु कास्की र स्याङजाका ग्रामीण सडकहरु कालोपत्रे भइरहेको १८ बर्षको अवधिमा पर्वतका कुनै पनि ग्रामीण सडक कालोपत्रे थिएनन् ।

लिप्ट खानेपानी, मोटरेवल पुल, विद्यालयका भवन र अस्पतालहरुमा कुनै सुधार नभएको तर्क जोशी इतर समूहको छ । एता, विगत ५ बर्षको अवधिमा भने १ सय १८ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएका छन् भने दर्जन बढि मोटरेवल पुल र सयौ विद्यालयहरुमा भवनहरु निर्माण भएका छन् । यी सवै कार्य विगत ५ बर्षको अवधिमा भएका छन् ।

जोशीले जिल्लाको लागि कुनै ठूला विकास आयोजनाहरु भित्राउन भूमिका नखेलेको उनी प्रति आरोप छ । विकास निर्माणमा उदासिन हुने तर निर्वाचनमा उमेदवार हुने भन्दै जोशी इतरले विरोध गरीरहेको छ । उता, गिरीले निर्वाचनको बेलामा गरेका सवै प्रतिबद्धताहरु अझै पनि पुरा नभएको जोशी समर्थन समूहको आरोप छ । साइकलमा चढ्न मिल्ने सडक बनाउने गिरीको योजना सवै वडाहरुमा पुरा नभएको गिरी इतर समूहले आरोप लगाउँदै आइरहेका छन् ।

गिरीले कोरोना संक्रमणले २ बर्ष विकास निर्माणको काम ठप्प भएकाले सवै योजना सम्भव नभएको तर्क गरेका छन् । उनले बाँकी रहेका सवै सडक केहि बर्षमा नै कालोपत्रे हुने दावी गर्दै आइरहेका छन् ।

निर्वाचनको समयमा पुनः दोहोरिएका अनुहारहरुका वीच मतदाताहरुले तुलना गर्ने प्रशस्त अवसर प्राप्त गर्ने गर्छन् । पर्वत जिल्लाको लागि पुराना नेता जोशी र युवा पुस्ताका नेता गिरी वीचको मूल्यांकन मतदाताले आगामी मंसीर ४ गते गर्नेछन् ।