Print

गाउँका विद्यालयमा अझै पनि शिक्षकको अभाव छ : सांसद गिरी

२७ जेठ, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले गाउँका विद्यालयहरुमा अझै पनि शिक्षकको अभाव रहँदै आएको बताएका छन् । सरकारले पेश गरेको विनियोजन विधेयक माथिको छलफलको क्रममा संसद वैठकमा बोल्दै गिरीले शिक्षकहरु शहरमा मात्र केन्द्रित हुँदा दुर दराजमा रहेका विद्यालयहरुमा शिक्षकको अभाव भएको बताएका छन् । उनले काठमाण्डौंमा मात्र १ हजार बढि शिक्षकहरु आवश्यकता भन्दा बढि रहेको उल्लेख गर्दै गाउँमा भने गुणस्तरीय शिक्षाको पहुँच अझै पनि पुग्न नसकेको उल्लेख गरेका छन् ।

सांसद गिरीले सरकारले ल्याएको बजेट र विनियोजन विधेयक माथि टिप्पणी गर्दै शिक्षा क्षेत्रमा निकै कम बजेट रहेको उल्लेख गरे । शिक्षक, कर्मचारीको १५ प्रतिशत तलब बृद्धि गर्दा पनि गत बर्षको तुलानामा ०.३ प्रतिशत मात्र शिक्षा क्षेत्रमा बजेट बृद्धि गरिएको भन्दै त्यसको आलोचना गरे । यो बजेटले शिक्षा क्षेत्रको पूर्वाधार निर्माण गरेर सुविधा सम्पन्न विद्यालयहरु बनाउन अब चुनौतिपूर्ण रहेको उनले उल्लेख गरे ।

सांसद गिरीले अझै पनि आधारभूत तहमा ३ दशमलब ३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको भन्दै विद्यालयमा भर्ना दर बढ्न नसकेको टिप्पणी गरे । संसद वैठकमा बोल्दै गिरीले समयमा पाठ््य पुस्तक पुराउन कमिसनको चलखेल हुने गरेको उल्लेख गरे । स्थानीय तहहरुमा नै किताब छाप्न नदिएर सरकारले विद्यार्थीको भविश्य माथि कुठारापात गरेको बताए । स्थानीय तहमा किताब छाप्न दिँदा कमसिन नआउने डरले सरकार सधै एउटै छापाखानामा किताब छाप्ने गरेको गिरीको भनाई छ ।

वैठकमा बोल्दै गिरीले विद्यार्थी कम भएका विद्यालयहरुलाई मर्ज गरी विद्यालय वसको ब्यवस्था गरी विद्यालय सञ्चालन गर्ने ब्यवस्था मिलाउन सरकारलाई सुझाब समेत दिए ।