२१ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा पालिका प्रमुख पदको उमेदवारमा २ जना पुराना अनुहार छन् । जिल्लाका २ नगरपालिकाहरु मध्ये दुवै नगरपालिकाका प्रमुख पुनः मेयर पदमा दोहोरिने गरी उमेदवार बनेका छन् । जिल्लाकै ठूलो नगरपालिका कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र जोशी र फलेवास नगरपालिकामा एमालेका पदमपाणी शर्मा पुनः दोहोरिने दाउँमा निर्वाचनमा होमिएका छन् ।
कुश्मा नगरपालिकाका जोशी नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री समेत हुन् । यस अघि अल्पमत सहित निर्वाचन जितेका जोशीले अल्पमत भएका कारण आफ्ना योजनाहरु कार्यान्वयन गर्न समस्या परेको बताउँदै आएका छन् । जिल्लाको ठूलो र जेठो नगरपालिकाको बागडोर सम्हालेका जोशी आफ्नै पाटी भित्र पनि अल्पमतमा परेका थिए । उमेदवारकोे टुंगो लगाउने बेलामा पाटी भित्र अल्पमतमा परेका जोशीले अन्ततः अन्तिम अवस्थामा बाजी मारेर नगरप्रमुखको टिकट ल्याउन सफल भएका हुन् । उनी अहिले घर दैलो अभियानमा छन् । जोशीलाई गठबन्धनका दललहरुको समर्थन रहेको छ ।
नगरपालिकाका प्रमुख भएपछि केहि गौरबका योजनाहरु अघि सार्ने प्रयास गरेका जोशीले यो अवधिमा ठूलो आयोजना नगरपालिकाबाट सञ्चालन गर्न सम्भव नभएको बताउँदै आएका छन् । कुश्मा नगरपालिका भित्र पक्कि सडक, खेल मैदान, सिटि हल सहितको वसपार्कलाई प्राथमिकतामा राखेका जोशीले अपेक्षाकृत उपलिब्ध नगरप्रमुखको भूमिमा देखाउन नसकेको समेत बताएका छन् । उनले बाँकी अधुरा योजनाहरु पुरा गर्न पनि पुनः आफू चुनावी मैदानमा आएको बताउँछन् । आफूलाई पुनः नगरप्रमुखको पदमा जनताले देख्न चाहेका कारण पनि आफू उमेदवार बनेको जोशीको तर्क छ ।
उता, फलेवास नगरपालिकालाई देश भरीकै उत्कृष्ट नगरपालिका बनाउन सफल भएका शर्मा पनि पुनः चुनावी मैदानमा छन् । नेकपा एमालेको जिल्ला कमिटिका उपाध्यक्ष समेत रहेका शर्माले फलेवास नगरपालिकामा ठूला र गौरबका आयोजना भित्राएका थिए । शुसाशन, वित्तिय प्रगति र अन्य बुँदाहरुमा नगरपालिकालाई अब्बल बनाउ सफल शर्माले पुनः आफ्ना योजनाहरुलाई कार्यान्वयन गर्नका लागि नगरप्रमुख पदमा उमेदवारी दिएका बताउँदै आएका छन् । उनले सडक, कृषि, जलविद्युत, पर्यटन र आय आर्जनको क्षेत्रमा उल्लेख काम नगरपालिका भित्र भएको दावी गर्दै आएका छन् । महवत्पूर्ण र ठूला आयोजनाहरु अझै पुरा नभएका कारण आफूले पुनः नगरप्रमुख हुन उमेदवारी दिएका शर्माको भनाई छ । उनी विद्यार्थी राजनीति देखि राजनीतिमा उदायका हुन् ।
ग्रामीण परिवेशमा रहेको नगरपालिकालाई विकसित, सभ्य र हराभरा बनाउन ग्रिन फलेवास क्लिन फलेवासको अवधारण अघि सारेका शर्मालाई गठबन्धन भने भारी पर्न सक्छ । एमालेको तर्फबाट शर्मा एक्लै चुनावी मैदानमा छन् । सम्बृद्ध फलेवास निर्माणका लागि आफूलाई मतदान गराउन अनुरोध गर्दै शर्मा यति बेला चुनावी घरदैलो अभियानमा छन् ।
जिल्लाको फलेवास नगरपालिकामा उपप्रमुखको उमेदवार समेत पुरानो अनुहार दोहोरिएकी छिन् । उपप्रमुख पदमा उमेदवार बनेकी मञ्जु अधिकारी यस अघिको निर्वाचनमा समेत विजयी भएर उपप्रमुख बनेकी थिइन् ।
जिल्लाबाट बाँकी पालिकाहरुमा सवै पदमा सवै नयाँ अनुहार उमेदवार बनेका छन् ।




