Print

पर्वतमा भयावह बन्दै कोरोना, २ हप्तामा १७ जनाको मृत्यु

३ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर फैलन शुरु भए लगतै निषेधाज्ञा जारी गरिएको थियो । देशका अन्य ठाउँमा निषेधाज्ञा शुरु नहुँदै जिल्लामा गत वैशाख १७ गते राती देखि नै निषेधाज्ञा जारी भएको थियो ।

संक्रमणको फैलावटलाई कम गर्ने प्रयास गरेर निषेधाज्ञा जारी गरे पनि पर्वतमा संक्रमण देशका अरु जिल्लाकै तुलानामा तिव्र गतिमै फैलिएको छ । देशको चौथो सानो जिल्ला भएर पनि देशका अरु जिल्लाकै हाराहारीमा संक्रमीत र मृत्युको दर देख्न सकिन्छ । जिल्लामा रहेका सवै पालिकाहरुले संक्रमण न्यूनिकरणको प्रयास गरे पनि सफल भएको देखिदैन् ।

अहिले जिल्ला भर नै निषेधाज्ञा जारी भएको छ । पसलहरु बन्दछन् सवारी साधन बन्द छन् । वैशाख १७ गते पछि जिल्लाको सदरमुकाममा पूर्णकालीन रुपमा निषेधाज्ञा जारी छ । तर, संक्रमणको फैलावट भने कम भएको छैन् । प्रति दिन संक्रमणको दर भने बढेर गएको छ ।

दैनिक रुपमा संक्रमीतको संख्या थपिएका छन् भने मृत्यु दर निकै उच्च देखिन्छ । आज मात्रै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको तथ्यांक छ भने कुश्मा नगरपालिकाको बजार क्षेत्रमा मा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

उता, जिल्ला भर झण्डै २० जना अन्यमा संक्रमण देखिएको छ । दैनिक रुपमा १ सय जनाको हाराहारीमा संक्रमीत थपिदै गएका छन् । यो विकराल अवस्थामा संक्रमीतहरु गम्भिर विरामी भए भने अव अस्पतालहरुले विरामीको चाप धान्न सक्ने अवस्था छैन् । दैनिक रुपमा मृत्युको संख्या हेर्दा पनि गम्भिर विरामी हुने दर बढिरहेको छ ।

पछिल्लो २ हप्तामा मात्र १७ जनाले कोरोना संक्रमणकै कारण मृत्युवरण गर्न पुगेका छन् । योसंगै संक्रमणको पहिलो चरण सहित हालसम्म २१ जनाले मृत्युवरण गरेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा मर्नेको संख्या हेर्दा सवैभन्दा धेरै कुश्मा नगरपालिकामा मृत्यु भएको छ । हालसम्म कुश्मा नगरपालिकामा मात्रै ११ जनाको मृत्यु भएको छ भने जलजला गाउँपािलकामा ५ जना, पैयू गाउँपालिकामा ३ जना र फेलवास नगरपालिकामा २ जनाको मृत्यु भएको छ ।

जनसंख्या र भूगोलले सानो जिल्ला भएपनि दैनिक रुपमा संक्रमीत थपिने र मृत्यु हुनेको दर हेर्दा यसले कुनै पनि बेला अझै धेरै विकराल अवस्था ल्याउनसक्ने देखिन्छ । हालसम्म १ हजार बढि संक्रमीत भएका छन् भने झण्डै ६ सय जना अझै पनि कोरोना भाइरसका संक्रिय संक्रमितहरु पर्वत जिल्ला भित्र रहेका छन् ।