२४ वैशाख, पर्वत । गण्डकी प्रदेश अन्तगर्तका ११ वटै जिल्ला अध्यक्षहरुले एमाले विभाजनबाट रोक्न केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरि उनीहरुले पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनमा समेत धक्का पुगेको भन्दै एकता जोगाउन आग्रह गरेका छन् ।
पर्वतका जिल्ला अध्यक्ष पदम गिरी सहितका ११ जिल्लाका अध्यक्षले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिवन्त र गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो ।
विगत वर्षदेखि आन्तरिक अन्तरविरोध देखा परेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महसुस गरेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै आदरणीय नेताहरु एकताबद्ध भई एमालेलाई जोगाउन अनुरोध गर्दछौं ।’
गण्डकीमा १० जना ओली समूहका अध्यक्ष छन् भने एकजना नेपाल समूहका छन् । स्याङजाका अध्यक्ष माओवादीबाट एमाले प्रवेश गरेर ओली समूहतिर लागेका हुन् ।





