२८ मंसिर, पर्वत। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विमल लामिछानेले मुलुक समृद्धिको दिशातर्फ अग्रसर रहेको अवस्थामा नेपाली युवाको बढ्दो विदेश पलायन तत्काल रोक्नुपर्ने बताएका छन् ।
देश विकासका पुर्वाधार मानिने युवा शक्तिलाई विदेश पलायन हुन नदिई स्वदेशमै रोजगारी र उद्यमशील बनाउन विशेष ध्यान दिनुपर्ने लामिछानेको भनाई छ । शनिवार पर्वतको कुश्मामा आयोजित नेपाल बाल संगठनको साधारण सभाको अबसरमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
जनताले परिवर्तनको प्रत्यक्ष अनुभव गर्न सक्ने गरी काम गर्न र युवा वर्गको आशा र आकाँक्षा अनुरूपका योजनाहरू निर्माण गर्न बर्तमान सरकारलाई तदरुकताका साथ लाग्न उनले आग्रह गरे । प्राकृतिक स्रोत साधनको धनि देश भएपनि यसको समुचित व्यवस्था नहुँदा मुलुक समृद्ध हुन नसकेको बताउँदै शिक्षाको क्षेत्रबाट स्रोत साधनको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।
उहाँले राष्ट्रको ठुलो लगानी शिक्षा क्षेत्रमा भएकाले यसको वैज्ञानिक व्यवस्थापन, गुणस्तरीयता र आवश्यक सुधारको खाँचो रहेको बताए । प्राविधिक शिक्षामा जोड दिँदै लामिछानेले उद्योग कलकारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै वेरोजगारी समस्याको समाधान गर्नु पर्ने अहिलेको आबश्यकता रहेको बताए ।
पर्वतको मोदी गाउँपालिकाका प्रवक्ता समेत रहेका युवा नेता लामिछानेले युवाहरुकै कारण देश विकास सम्भव हुने भए पनि युवाहरुको विदेश पलाएनका कारण देशमा उत्पादन घटिरहेकोमा दुःख ब्यक्त गरे । उनले युवाहरुलाई स्वदेशमै उद्यम गरेर स्वरोजजारमुलक ब्यवसायमा राज्यका सवै अंगले सहयोग गर्नुपर्ने धारणा राखे ।




