Print

कुश्मामा कांग्रेसको प्रदर्शन, आफ्नै पार्टीलाई आक्षेप नलगाउने शर्तमा भाषण

२९ मंसिर, पर्वत । नेपाली कांग्रेसले आज देश भर एकै साथ सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । देश भरजस्तै पर्वतको सदरमुकाम कुश्मा बजारमा पनि कांग्रेसले विरोध प्रदर्शन गरयो । दिउँसो १२ बजेपछि शुरु भएको विरोध प्रदर्शनका सहभागीहरुले सरकारको विरुद्धमा नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

सरकार अधिनायकबादी र तानाशाही भएको भन्दै सहभागीहरुले सरकारको राजीनामा समेत मागेका छन् । कुश्मा बजार परिक्रममा गरेको जुलुस कुश्माको शिवालय चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी सहितका जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका थिए । कांग्रेसले शक्ति प्रदर्शनको रुपमा लिएको यो आन्दोलनमा सहभागीहरुलाई सरकार विरुद्ध चर्का नारा लगाएका थिए ।

शिवालय चोकमा आयोजीत कोण सभाको शुरुमै सञ्चालक पार्टी सचिव विश्व प्रसाईले पार्टीको आचार संहिता भन्दै आन्तरीक पार्टीका कुरा गर्न नपाउने शर्त राखेका थिए । उनले जिल्ला पार्टीको निर्णय भन्दै कोण सभामा कम्युनिष्टलाई गाली गर्ने तर भाषणमा आफ्नो पार्टीको आन्तरीक किचलोको रोष पोख्न नहुने बताएका थिए ।

सत्तारुढ दल नेकपा आन्तरीक समस्याका कारण अल्झिरहेको बेलामा उता, नेपाली कांग्रेस भित्र पनि समस्या रहेको सार्वजनिक रुपमा देखिएको छ । केहि दिन अघि मात्रै पर्वतको फलेवास नगरपालिका स्थित थापाठानामा आयोजीत एक कार्यक्रममा नेताहरु वीच आरोप र प्रत्यारोप चलेपछि सरकार विरुद्धको प्रदर्शनमा पनि पार्टीको आन्तरीक समस्या सार्वजनिक हुने भएपछि जिल्ला कमिटिले नै यस्तो निर्णय गरेको कांग्रेस श्रोत बताउँछ । पार्टी भित्रका आफ्नै नेताहरुलाई अरोप लगाउँदा आन्दोलनमा आएका कार्यकर्ताहरुको मनोबल गिर्ने भएपछि कोणसभाको शुरुमै सञ्चालकले यस्तो आचार संहिता सुनाएका थिए । उनले पार्टी कमिटिले नै निर्णय गरेका कारण यसलाई मानेर भाषण गर्न अनुरोध गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य जोशीले यो सरकार नै कम्युनिष्टको अन्तिम सरकारको भएको बताए । उनले जनताको पक्षमा काम नगरेका कारण अव देशमा कम्युनिष्टको सरकार नबन्ने घोषणा गरे । कम्युनिष्ट शासन प्रति जनताको विश्वास घट्दै गइरहेको भन्दै एक अध्यक्षले अर्का अध्यक्ष र सरकारलाई लगाएको आरोप कै कारण कम्युनिष्ट आन्दोलन नेपालमा धरापमा परेको उनको भनाई छ । नैतिकता आधारमा कम्युनिष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डको आरोप पत्रका आधारमा पार्टीमा बस्न नहुने जोशीले तर्क गरे । विकास र शुसासन दिन वर्तमान सरकार असक्षम भएको जोशीको आरोप थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद लालकाजी गुरुङ, नवराज गुरुङ, ललितकला गुरुङले सरकारको दमनकारी नीतिका कारण सरकारको शाख गिर्दै गइरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादर मल्ल, कुश्मा नगरपालिकाका नगर सभापति तथा नगरप्रमुख रामचन्द्र जोशी, पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी लगाएतले संघीय सरकारको विरोध गरेका थिए ।

कार्यक्रममा कांग्रेसका जिल्ला राजेन्द्र तिवारी, तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, तरुण दलका जिल्ला अध्यक्ष राज मल्ल, नेविसंघका जिल्ला अध्यक्ष मिलन सुवेदी लगाएतले आफ्नो धारणा राखेका थिए । कोण सभाको सञ्चालन सचिव प्रसाई र स्वागत अर्का सचिव अशोक उचै ठकुरीले गरेका थिए ।