१६ मंसिर, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले पूर्वाधारको क्षेत्रमा नेपालमा असाधारण प्रगति हुदै गएको बताएका छन् । वर्तमान सरकारले सवै नेपालीलाई आवास, स्वास्थ्थ्यको सुनिश्चितता गराउदै पूर्वाधारका क्षेत्रमा ठूला ठूला परिर्वतनहरु हुँदै गएका बताएका छन् ।
सरकारले पारवहन सम्झौता गरेर मित्रराष्ट्रहरुसंगको सम्बन्ध प्रगाड बनाउँदै लगेको भन्दै सवै नागरिकलाई स्वास्थ्य सेवाको सुनिश्चिता गर्न र खुल्ला आकाशमुनी कोहि पनि नागरिक नरहुन भन्न भनेर आवासको ग्यारेन्टी पनि गरेको बताए । सरकारका कामहरुको प्रचार हुन नसकेका कारण ति कामहरु जनताले थाहा नपाएको उल्लेख गर्दै उनले सरकारले विकास निर्माणको काममा ठूलो प्रगति गरेको दावी गरे ।
पर्वतको मोदी गाउँपालिकामा आयोजीत अस्पताल भवनको शिल्यान्यास कार्यक्रममा बोल्दै सांसद गिरीले यस्तो कुरा बताएका छन् । उनले पर्वतबासीको जनप्रतिनिधिको हैसियतले जिल्लाको विकास निर्माणको काममा पनि विशेष ध्यान दिएको बताए । निर्वाचनको बेलामा आफूले साइकलमा उत्तर दक्षिण हिड्ने गरी सडक कालोपत्रे गर्ने सपना पुरा हुँदै गएको बताए । उनले वडा कार्यालयलाई राजमार्ग देखि जोड्ने गरी सडक सञ्जालमा कामहरु भइरहेको बताए ।
एकै दिन पर्वतमा ५ वटा आधारभुत अस्पतालहरुको शिल्यान्यास भएको उल्लेख गर्दै वर्तमान सरकारले असाधारण विकास निर्माणका कामहरु गरीरहेको दावी गरे । उनले एक घर एक धारा अभियान पनि पर्वत जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए ।




