Print

पर्वतको मुडिकुवामा पहिरोको त्रास : बर्षात हुँदाको रात, विद्यालयमा सामूहिक बास

५ असोज, पर्वत । पर्वत जिल्लामा एउटा बस्ती नै पहिरोले विस्थापित भएको छ । जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवामा ४५ घरधुरी रहेको एकघरे गाउँ पहिरोका कारण विस्थापित भएको हो । अविरल वर्षा संगै बस्ती माथीको भीर धाँजा फाँटेर झर्न थालेपछि विगत ५ दिनदेखि गाउँलेहरु घर छोडेर विद्यालयमा आश्रय लिन थालेको बताएका छन् ।

स्थानीय बालमुकुन्द घिमिरेका अनुसार एक किलोमिटर माथी मन्धराको गुफाबाट पहिरो झर्न थालेपछि गाउँले घर छोडेर स्थानीय माटेदेवल माविमा आएर बस्न बाध्य छन् । पहिरो झर्न नरोकिएपछि ज्यान जोगाउन घर छोडेर बिद्यालयमा बस्न थालेको घिमिरेले बताउनुभयो ।

भीरबाट दैनिक रुपमा ठूलाठूला ढुंगा झर्न थालेका छन् । निरन्तर वर्षा भैरहँदा सामान्य पहिरो शुरु भएको र भदौ ३१ गते भूकम्पको धक्का आएपछि पहिरो झर्ने क्रम बाक्लिएको स्थानीय सुमन गौँडेलले बताउनुभयो । पहिरोले विस्थापित भएका गाउँलेले फलेवास नगरपालिकामा आफुहरुलाई सुरक्षित स्थानमा सारिदिन माग गरेका छन् ।

नगरप्रमुख पदमपाणी शर्माले पहिरोको जोखिममा रहेका वस्तीहरुको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरिएको बताउनुभएको छ । अहिले सम्म ७ वटा वस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले संघ र प्रदेश सरकार समक्ष सिफारिस गरिसकेको शर्माले जानकारी दिनुभयो ।

सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुन ः सिफारिस गर्न सकिने उहाँले बताउनुभएको छ । फलेवास ४ को चुरी, फलेवास ३ को पुर्कोट र रुग्दी, फलेवास २ को दरदरे, फलेवास १० को फल्ला गाउँ पहिरोको उच्च जोखिममा रहेकाले नगर स्तरिय विपद व्यवस्थापन समितिको निर्णय अनुसार सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ ।