Print

‘गृुटको भेलाले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न’–मुख्य मन्त्री गुरुङ

२६ साउन, पर्वत । गण्डकी प्रदेशका मुख्य मन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य पृथ्वी सुब्बा गुरुङले कुनै गुटको भेलाले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

पर्वत सदरमुकाम कुश्मा बजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले समूह र उप समूह बनाएर भेला गर्दै राजीनामा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने स्पष्ट पारेका हुन ।

पार्टीका शिर्षस्थ तहका नेताहरुमा आएको धुव्रीकरणका कारण कार्यकर्ताहरुमा नैराश्यता र द्धिविधा उत्पन्न भएको भन्दै नेता गुरुङले नेतृत्व तह नमिल्दा पार्टी भित्र समस्या देखिएको बताए । ओली पक्षका स्थायी कमिटि सदस्य गुरुङले विधि र पद्धति अनुसार निर्वाचित पार्टी अध्यक्षलाई महाधिवेशनबाट नै फाल्नुपर्ने धारणा समेत राखे ।

दुई पार्टी एकता पूर्व दुई पार्टीका अध्यक्ष निर्वाचित अध्यक्ष भएकै कारण एकिकृत पार्टीको अध्यक्ष बनेको उनको तर्क छ । ‘निर्वाचित अध्यक्षलाई हटाउने महाधिवेशनले नै हो’ गुरुङले भने–‘यस्तो अवस्थामा सरकार परिर्वतनको हल्ला गरेर अस्थिरता फैलाउने काम कसैले पनि गर्नुहुन्न ।’

पार्टी भित्र अन्तरविरोध र अन्तरसंघर्ष स्वभाविक भए पनि अहिलेको अवस्थामा उठान भएका एजेण्डा गलत रहेको मुख्य मन्त्री गुरुङको भनाई थियो ।