Print

‘पार्टी एकताको पक्षमा लाग्दा भ्रमपूर्ण प्रचार गरियो–सांसद गिरी

२६ साउन, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले आफ्नो विषयमा भ्रमपूर्ण समाचार सार्वजनिक भएको प्रतिक्रिया दिएका छन् । सत्तारुद नेपाल कम्युनिष्ट पार्टीका सांसद गिरीले केहि अनलाईन सञ्चार माध्यमबाट कार्यकर्ता र शुभेच्छुकहरुमा भ्रम पर्ने गरी प्रकाशित भएको समाचारको खण्डन गरेका हुन ।

अहिले कम्युनिष्ट पार्टीमा नेतृत्व वीच तिव्र धुव्रीकरण भइरहेको बेलामा पार्टी एकता जोगाउनुपर्छ भन्ने पक्षमा आफूले मत जाहेर गरेकै कारण आफू प्रति तुच्छ स्वार्थ पुरा गर्न अवफाह फैलाइएको सांसद गिरीको भनाई छ ।

पार्टी भित्र प्रधानमन्त्री केपी ओली निकट मानिने सांसद गिरीले मुलकमा राजनैतिक स्थायित्व नेपाली जनताको चाहना भएको समेत बताएका छन् । सत्ता परिर्वतनको वेमौसमी खेलले मुलक र पार्टी दुवैलाई अहित गर्ने कुरामा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले युगान्तकारी कामहरु गरेको समेत बताएका छन् ।

ओली समूहबाट बाहिरिएको भन्ने समाचारको खण्डन गर्दै सांसद गिरीले मुलक कोभिड १९ र त्यसले सृजना गरेको आर्थिक संकट र राष्ट्रियताको मुद्धा पेचिलो बनिरहेको बेलामा सत्ता परिर्वतनको विषय आफैमा असान्दर्भिक रहेको गिरीको भनाई छ ।

पर्वत जिल्ला नेकपा पार्टीका जिल्ला अध्यक्ष समेत रहेका गिरीले वर्तमान सरकारलाई घेराबन्दीमा पारेर राजीनामा दिन लगाउनु र सत्ता परिर्वतनको कुरा गर्नुलाई बेमौसमी खेलको संज्ञा दिएका छन् । विषम परिस्थितीमा पार्टी नेतृत्व थप एकताबद्ध भएर अगाडिका चुनौतिहरु सामना गर्नु सवैको हितमा रहेको समेत सांसद गिरीको भनाई छ ।

वर्तमान सरकारले संघीयताको कार्यान्वयन, आर्थिक विकास र राष्ट्रियताको सबालमा युगान्तकारी काम गरेको सांसद गिरीको भनाई छ । गिरी पार्टी भित्र ओली समुहका नेता हुन ।