२८ असार, पर्वत । मोदी गाउँपालिकको केन्द्र डिमुवा देखि राम्जा जोड्ने डिमुवा –राम्जा सडकको दोस्रो खण्ड कालोपत्रे गर्ने काम शुरु भएको छ । डिमुवा देखि राम्जा सम्म जोड्ने सडकको रात्माटा देखि स्यानीपोखरी–ठुलीपोखरी–ठाँटी–छाप सडकको आइतबार देखि कालोपत्रे गर्ने काम शुरु भएको हो ।
सडक कालोपत्रे गर्ने कार्यको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका केन्द्रिय सदस्य गुप्तबहादुर हमाल ठकुरीले एक कार्यक्रमका वीच शिलन्यास गरेका छन् ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।
सडकको साढे ८ किलोमिटर खण्ड दुई बर्षभित्रमा कालोपत्रे सक्ने गरि काम शुरु भएको पुर्वाधार बिकास कार्यालय पर्वतले जानकारी दिएको छ ।
पुर्वाधार बिकास कार्यालय पर्वतका कार्यालय प्रमुख दयाराम अधिकारीका अनुसार ८ दशमलब ८ किलोमिटर सडक कालोपत्रे गर्न भ्याट बाहेक १८ करोड ३९ लाख रुपैया बिनियोजन भएको छ । ८ मिटर चौडा सडकमा नाली र दायाँ बायाको खाली भाग बाहेक साढे ५ मिटर पिच रहनेछ । सडक दुई बर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको कार्यालय प्रमुख दयाराम अधिकारीले बताए । ‘
प्रतिकुलताका बिचमा पनि हामीले सडक निर्माणका काम अघि बढीरहेका छन।’ उनले यस बर्ष पनि लक्ष्य अनुसार काम गर्न नसकेपनि कार्यालयले ७५ प्रतिशत काम सम्पन्न गरेको बताए।
सडक कालोपत्रेको शिलन्यास गर्दै नेकपाका केन्द्रिय सदस्य हमालले मोदी गाउँपालिकाको केन्द्र र राम्जा तथा चित्रेका बासिन्दाका लागि सहज यातयात सुबिधा दिन यो सडकलाई कालोपत्रे गर्ने काम अघि बढाइएको बताए।
केन्द्रिय सदस्य हमालले नेकपा नेतृत्वको संघ र प्रदेश सरकारको कार्यकालमा पर्वत जिल्लाको सडक, खानेपानी, पुल, सिंचाई, बिद्यालय भवन निर्माणको कामले जिल्लाको मुहार फेरिने ठोकुवा गरे ।
सडक निर्माणको काम महालक्ष्मी एण्ड पाण्डे जेभिले गर्ने भएको छ । असारमा काम शुरु गरेपनि बर्षा रोकिएपछि निर्माण कार्यले गति लिने र निर्धारित समयमा नै काम सक्ने बिश्वास निर्माण कम्पनीका हरिबंश पाण्डेले ब्यक्त गरे ।
सडक कालोपत्रेका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना, प्रतिनिधि सभाका सांसद पदम गिरीको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन भएको हो ।




