२१ असार, पर्वत । पिसिआर रिर्पोट समयमा नआउँदा क्वारेन्टाइनको बसाई कष्टकर र खर्चिलो बन्दै गएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुको झण्डै महिना दिनसम्म पनि रिर्पोट नआएको गुनासोहरु आउन थालेका छन् । जिल्लाको फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले क्वारेन्टाइनको खर्च बढ्दै गइरहेको बताउँछन् ।
होटलमा बसेकाहरुको रिर्पोट समयमा नआउँदा प्रति ब्यक्ति ४५ हजार रुपैंयासम्म होटल खर्च तिर्नुपरेको रिजालको गुनासो छ । होटलमा प्रतिब्यक्ति प्रतिदिन भ्याट रकम बाहेक १७ सय ५० निर्धारण भएको छ । एउटै ब्यक्तिको रिर्पोट २६ दिनसम्म नआउँदा ४५ हजार भन्दा बढि टललाई भुक्तानी गर्नुपरेको रिजालले बताए ।
जिल्लामा होटलसंगै अरु सामुदायिक क्वारेन्टाइनहरु पनि छन् । भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा बसीरहेका छन् । गर्मि मौसममा क्वारेन्टाइनको बसाई लम्बिदा झन अरु स्वास्थ्य समस्याहरु देखिनसक्ने मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछाने बताउँछन् । पिसिआर रिर्पोट कुर्दासम्म संक्रमीत पनि निको भइसकेको हुनुपर्छ ।
स्वाब संकलन गरी प्रयोगशालामा पठाए पनि त्यसको रिर्पोट कुर्दासम्म क्वारेन्टाइनमा खर्च बढ्ने त्यसले स्थानीय तहको ब्ययभार बढ्ने समस्या सृजना भएको छ । महाशिला गाउँपालिका प्रवक्ता जीवन उचै ठकुरीले क्वारेन्टाइनमा खर्च गर्नुभन्दा बरु पिसिआर मेसिन नै खरिद गर्नुपर्न धारणा राख्छन् । क्वारेन्टाइनमा खर्च भइरहेको छ, बरु पिसिआर मेसिन खरिद गरेर त्यो खर्च जोगाउन सकिने उनको धारणा छ ।
मेसिन खरिद गरी परिक्षण जिल्लामै गर्दा अरु बेलामा पनि मेसिनले काम दिनसक्ने ठकुरीले तर्क गरे ।
पर्वत जिल्लामा अहिले ९१ जना संक्रमीत भएका छन् । त्यसमध्ये २७ जना भने डिस्चार्ज भइ घरमा फर्किएका छन् ।




