Print

पहिरो पिडित दुर्लुङबासीलाई ३ लाख नगद सहयोग, ‘वस्ती स्थानान्तरणको पहल भइरहेको छ’–सांसद गिरी

१२ असार, पर्वत । गत जेठ ३१ गते राती भिषण बर्षातसंगै आएको पहिरोले ३ घर बगाउँदा कुश्मा नगरपाकिला वडा न ३ मा २ परिवारका ९ जनाको मृत्यु भएको थियो । पहिरोका कारण २६ भन्दा बढि घर उच्च जोखिमा रहेका छन् । ति घर परिवारलाई राहत र सहयोग लिएर शुक्रवार प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी पहिरो ग्रस्त वस्तीमा पुगेका छन् ।

रोटरी क्लब अफ नेपालको प्रकोप सहयोग कार्यक्रमलाई सहयोगका लागि गिरीले गरेको आग्रह बमोजीम प्राप्त भएका सुरक्षा सम्बन्धि सामाग्री र विभिन्न ब्यक्तिले संकलन गरेको सहयोग रकम लिएर सांसद गिरी पहिरो ग्रस्त वस्तीमा पुगेका हुन । गिरीको गृह वडा समेत रहेको दुर्लुङमा पुगेका सांसद गिरीलाई स्थानीयलाई सम्भावित थप पहिरोबाट सजग रहन आग्रह गरे ।

उनले पहिरोका कारण उच्च जोखिममा रहेको वस्ती र घरहरुलाई स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि संघीय सरकारमा पहल भइरहेको जानकारी दिए । उनले नयाँ बस्ती प्राकृतिक विपद्ीवाट बढि सुरक्षित हुने गरी विशेषज्ञको सल्लाह र सुझाबका आधारमा तय गर्ने गरी संघीय सरकारले अध्ययन गरीरहेको उनको भनाई छ ।

सांसद गिरीले पहिरो गए लगतै जिल्ला प्रशासन कार्यालय पर्वतबाट घर पुरिएका र पहिरोको उच्च जोखिममा रहेका परिवारलाई प्रति परिवार ५० हजार रुपैया उपलब्ध गराउन आफूले अनुरोध गरेको र कार्यालयले प्रक्रिया अघि बढाईसकेको समेत जानकारी दिए । पहिरो गएको भोलिपल्ट नै प्रमुख जिल्ला अधिकारीले ५० हजार रुपैंया उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको स्मरण गराउँदै थप रकम गृह मन्त्रालयले उपलब्ध गराउने हो भने त्यो रकम पनि लिएर अस्थायी आवासको प्रवन्ध गर्न स्थानीयलाई आग्रह गरे ।

कार्यक्रममा स्थानीय थमप्रसाद थापा र इन्द्रप्रसाद शर्माले संकलन गरेको २ लाख ४६ हजार नगद, स्थानीय शेरबहादुर गुरुङ, महेन्द्र नेपाली, ज्ञानेन्द्र नेपालीले संकलन गरेको ३६ हजार ५ सय २०, निर्माण ब्यवसायी सागर श्रेष्ठले ब्यक्तिगत सहयोग गरेको २६ हजार नगद र सञ्चारकर्मी सञ्जय रेग्मी मार्फत संकलन भएको १० हजार सहित ३ लाख १८ हजार ५ सय २० रुपैया रकम पहिरो पिडितका लागि प्रदान गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, रोटरी क्लबका गोपी अधिकारी, नेकपा नेता मेघनाथ सुवेदी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जोखिमयुक्त बस्तीलाई तत्काल ब्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए । वडाअध्यक्ष तेजप्रसाद पाध्याले सहयोग हस्तान्तरण गर्ने प्रति धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ पर्वतका अध्यक्ष लेखनाथ शर्मा र सञ्चालन क्लबका पूर्व अध्यक्ष गणेश पौडेलले गरेका थिए ।