Print

आगामी बजेट : सवैभन्दा धेरै बजेट फलेवासको, पैयूको बजेट उपर छलफल हुँदै, नेकपाको असन्तुष्टि

१२ असार, पर्वत । जिल्लाभरका ७ वटा गाउँपालिकाहरुले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संघीयता मर्म अनुसार स्थानीय तह पनि आफैमा सरकार भएका कारण आगामी आर्थिक बर्षमा खर्च गर्ने बजेट गाउँ तथा नगर सभा मार्फत प्रस्तुत गरेका हुन । जिल्लाका ७ पालिकाहरु मध्ये सवैभन्दा बढि बजेट भने फलेवास नगरपालिकाका रहेको छ ।

फलेवास नगरपालिकाले आगामी बर्ष ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जिल्लाको सदरमुकाम कुश्मा बजार भन्दा झण्डै ३ करोड भन्दा बढिको बजेट फलेवासले प्रस्तुत गरेको हो ।

भुगोल र जनसंख्याको आधारमा सदरमुकाममा बढि हुनुपर्ने बजेट यस पटक भने फलेवास नगरपालिकामा बढि देखिएको छ । फलेवास नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

एता, कुश्मा नगरपालिकाको भने कुल बजेट ७९ करोड ७८ लाख ५० हजार रुपैंया बराबरको बजेट प्रस्तुत गरेको हो ।
यसैगरी मोदी गाउँपालिकाले ६२ करोड ५६ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ ।

जिल्लाको महाशिला गाउँपालिकाले भने ३४ करोड ४० लाख १८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकोछ

उता, विहादी गाउँपालिकाले भने ३९ करोड ८९ लाख १० हजारको बजेट प्रस्तुत गरेको छ ।

जलजला गाउँपालिकाले आगामी असार १४ गते बजेट ल्याउने तय गरेको छ । जलजलाले नीति तथा कार्यक्रम सार्वजनिक गरीसकेको छ ।

उता, पैयू गाउँपालिकामा भने राजनैतिक दल वीच विवाद देखिएको छ । पालिकामा विपक्ष दलको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँ सभा, बजेट र कार्यक्रमको कार्यान्वयन प्रति असन्तुष्टि ब्यक्त गरेको छ ।

गाउँ सभामा ४१ करोड ६३ लाख ४६ हजार ३ सय ५० रुपैंया प्रस्ताव गरिएको छ । उक्त बजेट उपर छलफल भइरहेको गाउँपालिकाले जनाएको छ ।
उता, नेकपा पार्टिका गाउँ कमिटिका अध्यक्ष चोललाल न्यौपाने र सचिव रेशमलाल सापकोटाले गाउँपालिकालाई विरोध पत्र प्रदान गर्दै गाउँपालिकाले एक्लौटि ढङगले बजेट ल्याउने र कार्यान्वयन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

योजनाहरुको छनौट गर्दा एक्लौटि ढङगले गरेको र पक्षपात पूर्ण निर्णय गर्ने तयारी गरिएको भन्दै उनीहरुले सवै दलहरु वीच एकता कायम गरेर बजेट ल्याउनुपर्ने माग गरेका छन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र विभिन्न विधेयक गाउँसभामा प्रस्तुत गरेको छ । आगामी बर्षको लागि बजेट गाउँ सभामा प्रस्तुत भएको र गाउँपालिकाले आगामी २८ गते बजेट पारित गर्ने गरी मिति तय गरेको अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिए ।

प्रस्तुत भएको बजेट उपर छलफल भइरहेको उनको भनाई छ । राजनैतिक दलले सामान्य विषयलाई विवादको विषय बनाएको तिवारी बताउँछन् ।

जिल्लाका अन्य स्थानीय तहहरुका राजनैतिक दलहरु वीच भने विवाद देखिएको छैन ।  गाउँ सभा तथा नगरसभाहरु सम्पन्न भएपछि अव जिल्ला सभा सम्पन्न हुनेछ ।