Print

फलेवासमा असंगठित मजदुरको जीवन सुरक्षा कार्यक्रम, ६० बर्ष पुगेपछि उपदानको सुविधा

११ असार, पर्वत । जिल्लाको फलेवास नगरपालिकाले आगामी बर्ष देखि मजदुर लक्षित कार्यक्रम ल्याएको छ । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समेत असंगठित मजदुरलाई लक्षित गरी जीवन सुरक्षा कार्यक्रम ल्याइएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । नगरपालिकाको छैटौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शर्माले नगरपालिका भित्र रहेका असंगठित मजदुरहरुलाई भरण पोषणका लागि उपदान योजना ल्याइएको बताए ।

उनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुले मासिक रुपमा कम्तिमा ५ सय रुपैंया जम्मा गर्दा नगरपालिकाबाट पनि ५ सय रुपैंया खातामा राख्ने गरी योजना अघि सारीएको जानकारी दिए । हालका लागि यस्तो कार्यक्रमका लागि ६० लाख रुपैंया विनियाजन गरिएको छ । मजदुर ६० बर्षको उमेरमा पुगेपछि उनीहरुले जम्मा गरेको रकममा नगरपालिकाको समेत रकम थप गरी एकमुष्ट रकम उपदान स्वरुप प्राप्त गर्नेछन् । यो कार्यक्रमलाई लागू गर्नका लागि थप कार्य विधि निर्माण गरिने नगरप्रमुख शर्माको भनाई छ ।

दैनिक ज्यालादारी गर्ने, ज्यामी, सिकर्मी, डकर्मी, पुजारी, बाजा बजाउनेहरु लगाएतको जीवन सुरुक्षाका लागि यो कार्यक्रम नगरपालिकाको आकर्षक कार्यक्रमको रुपमा अघि सारिएको नगरप्रमुख शर्माको भनाई छ । असंगठित मजदुरको खातामा नगरपालिकाले थप गर्ने रकम प्रत्येक बर्ष बढाउन सकिने उनको भनाई छ । आगामी बर्ष देखि कार्यक्रम लागू हुन्छ । अरु बर्ष देखि नगरपालिकाले रकम थप गर्ने रकम बढाउन पनि सकिन्छ । यसले उनीहरु शरीरले श्रम गर्न नसक्दा पनि जीवन यापन गर्नका लागि सहज हुने नगरप्रमुख शर्माको विश्वास छ ।

नगरपालिकाको छैटो नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुृ अधिकारीले यो कार्यक्रमका लागि ६० लाख रुपैंया विनियोजन गरेको जानकारी दिईन । आगामी बर्ष धेरै नयाँ भन्दा पुराना कार्यक्रम र योजनाहरुलाई पुरा गर्ने गरी बजेट ल्याइएको उपप्रमुख अधिकारीको भनाई छ ।

नगरपालिकाको आगामी बर्ष सवै सडकहरुको स्तरोउन्नतीमा ध्यान दिनेछ । नयाँ ट्रयाक्क खोल्नका लागि हालका लागि बजेट ब्यवस्थापन गरेको छैन । नगरप्रमुख शर्माले आगामी बर्ष केहि खेत वारीमा लिप्ट सिंचाई प्रयोग गरी कृषि उत्पादन बढाउने गरी बजेटको ब्यवस्थापन गरिएको जानकारी दिए । यसैगरी क्लिन फलेवास ग्रिन फलेवास कार्यक्रमलाई थप प्रभावकारी बनाउने नगरपालिकाको योजना रहेको छ ।