Print

कुश्माका सामुदायिक विद्यालयका विद्यार्थीलई घरमै पुगेर किताब वितरण

४ असार, पर्वत । लक डाउनका कारण वन्द रहेका सामुदायिक विद्यालयहरुमा पठन पाठन शुरु गर्ने तयारी गरिएकोछ । विद्यार्थीहरुलाई घर घरमा नै गएर किताव र कपि वितरण गर्दै अध्ययन कार्यको शुरुवात गर्न प्रोत्साहन गरिएको हो । पर्वतको कुश्मा नगरपालिका भित्रका आधारभूत विद्यालयहरुमा घर घरमा गएर विद्यार्थीहरुलाई भेट गर्ने र उनीहरुलाई किताब वितरण गर्ने कार्यको शुरुवात गरिएको कुश्मा नगरपालिकाका शिक्षा शाखाका राजेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।

‘नगरपालिका क्षेत्र भित्रका आधारभूत विद्यालयहरुमा किताव र कपि वितरण कार्यलाई अघि बढाइएको छ ’ क्षेत्रीले भने–‘पहिलो चरणमा विद्यार्थीहरु घरमै बसेर अध्ययन गरुन भन्ने हो’ सरकारले लक डाउन खुकुलो बनाउँदै लगेसंगै सामुदायिक विद्यालयहरुमा भर्ना र किताव वितरण कार्य अघि बढाउने सरकारको तयारी छ । संक्रमीतको संख्या निरन्तर बढिरहँदा विद्यालय खोल्ने विषयमा अझै निधो नभएकाले विद्यार्थीहरुको पढाई भने निकै प्रभावित भएको छ । उनीहरुलाई किताब, कपि र कलम वितरण गरी शिक्षकहरु घर घरमा पुगेर काउन्सिलिङ गरीरहेका छन् ।

विद्यालय बन्द हुँदा कतिपय विद्यार्थीहरुमा पढाई प्रति रुचि घटिरहेको छ । अध्ययन गर्ने बानीको विकास हुन छाडेको छ । यसले अध्ययन अध्यापनमा गम्भिर असर पर्ने देखिन्छ । विगत ३ महिना देखि पढाई पूर्ण रुपमा बन्द भएको छ । सरकारले अनलाईन कक्षा सञ्चालनको निर्देशन पनि दिएको छ । केहि नीजि विद्यालयले त्यो कार्य शुरु गरेपनि इन्टरनेट र अन्य सुविधाको अभावमा ग्रामीण क्षेत्रमा त्यो सम्भव देखिदैन । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले घरमा पुगेर उनीहरुलाई अध्ययन गर्न प्रोत्साहन गरीरहेका छन् । कतिपय नीजि विद्यालयहरुले भने फोन र अनलाइनबाट गृह कार्य दिएर पनि विद्यार्थीहरुलाई अध्ययन गर्ने बानीको विकास गराईरहेका छन् ।