१९ जेठ, पर्वत । कुश्मा ज्ञादी झोलुंगे पुल बनेको १ दशक पुग्यो । कुश्मा बजारलाई ज्ञादी क्षेत्रलाई जोड्ने यो पुलले निकै ठूलो योगदान पुराएको छ । यस अघि कुश्माको झाप्रेवगरको बाटो पैदल गर्दा १ घण्टा भन्दा बढि लाग्ने बाटो १० मिनेटमै छोडियो झोलुंगे पुल बनेपछि । नेपालकै पहिलो पटक अग्लो स्थानमा बनेको कुश्मा ज्ञादी झोलुंगे पुल पछि पर्वत सदरमुकामै थप ३ वटा झोलुंगे पुल निर्माण भएका छन् । यो संख्यामा अहिले अझै एउटा पुल पनि थपिएको छ । कुश्माको पाङ र बागलुङ बजार जोड्ने अग्लो पुल ।
झोलुंगे पुल निर्माण हुँदै जाँदा मानिसको आगवमन सहज भए पनि सडक सञ्जालबाट कुश्मा र ज्ञादी भने टाडिएको छ । कुश्मा देखि दोविल्ला हुँदै ज्ञादी र दक्षिणी क्षेत्रमा यात्रा गर्दा दुरी, समय र लागतको हिसावले धेरै छ । विगत ४ बर्ष अघि देखि पर्वतको झाप्रेवगरमा मोटरेवल पुलको निर्माण गर्ने योजना अघि सरयो । त्यो योजना बमोजीम संघीय सरकारबाट बजेट पनि विनियोजन भएको थियो ।
नेकपाका नेता मेघनाथ सुवेदी भन्छन–‘बजेट परेपनि काम हुन नसक्दा पैसा फ्रिज गएको छ ।’ उनले निरन्तर रुपमा मोटरेवल पुल निर्माणको प्रयास गरीरहे पनि विभिन्न कारणले काम हुन नसकेको बताउँछन ।
मन्त्रालयमै पुगेर फाइल अघि बढाएको स्मरण गर्दै नेकपाका अर्का नेता गोविन्द पहाडीले पुल निर्माणको अग्रसरता लिने ब्यक्तिको कमीका कारण पुलको निर्माण काम शुरु हुन नसकेको बताउँछन् ।
गत बर्ष पुल निर्माणमा रकम परेको थियो । कुश्मा नगरपालिका वडा न ७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेल भन्छन–‘सर्भेका लागि सडक नभएको भनेर नगरपालिकाबाट सडक खनियो ।’ उनले मोटरेवल पुलको पहुँच मार्ग नगरपालिकाबाट खनिदिएका कारण अव भने पुल निर्माण हुनेमा ढुक्कता ब्यक्त गरे ।
संघीय सांसद पदम गिरीले सर्भे कार्यसंगै पुल निर्माणको कामलाई गति दिने गरी यस बर्ष पुनः बजेट राखिएको बताए ।
उनले कुश्मालाई ज्ञादी क्षेत्रका कटुवाचौपारी, पिपलटारी, ठुलिपोखरी खौला, कार्निकेनटा, शंकरपोखरी लगाएतका जनतलाई पायक पर्ने पुल निकै महत्वपूर्ण भएकाले जसरी पनि निर्माण गर्ने गरी यस बर्ष ४७ लाख विनियोजन गरिएको बताए ।
मोटरेवल पुलमा जानका लागि कुश्मा देखि पहँुच मार्ग निर्माण भएको छ । उता, ज्ञादीको कटुवाचौपारीबाट पनि सडकको ट्रयाक खनिएको छ । यो पुल मोदी खोलामा निर्माण हुनेछ । यो पुलले कुश्मा बजारलाई जिल्लाको दक्षिणी क्षेत्रसंग जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ ।




