Print

पोखरा–आर्थर–कार्किनेटा–लुंखु–सेतीवेणी–रिडि सडकका लागि बजेट विनियोजन

१५ जेठ, पर्वत । अर्को पर्यटकीय गन्तब्य रिडी सम्म पुग्ने पोखरा रिडी सडक लागि सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७७/०७८ को बजेट मन्तब्यमा पोखराबाट – पामे– भदौरे– राम्जा–आर्थर–कार्किनेटा–लुंखु–भोक्सिङ -उरामपोखरा–सेतीबेणी– रिडी सडकका लागि बजेट बिनियोजन गरिएको बताए । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीबेणी हुँदै रिडी सम्मको सडक राष्ट्रिय राजमार्गमा परेपछि डाँडैडाडा सेतीबेणी देखि पोखरा सम्म पक्की सडकमा पुग्ने पर्वतबासीको चाहनाले मुर्तरुप लिने भएको छ ।

अर्थमन्त्रीले यो सडकका लागि बजेट बिनियोजन भएको बताएपछि बहुर्षिय ठेक्का मार्फत सडक निर्माण हुने छ ।
अहिले सम्म सडकको पर्वत र कास्की खण्डको सबैजसो भागमा ट्रयाक खोल्ने काम भैसकेको छ । अब सडक कालोपत्रे र बिस्तार हुने भएको छ ।

गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा गत बर्ष पनि परेको थियो । सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपुर्बी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ ।

यस बर्षको बजेटमा पोखरा रिडी सहित पर्वत भएर जाने मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण कालीगण्डकी करिडोरका लागि पनि बजेट बिनियोजन भएको छ। कालीगण्डकी करिडोरको मालढुंगा बेनी सडकका लागि गत बर्ष नै बजेट बिनियोजन भएको थियो । कालीगण्डकी करिडोरको सेतीबेणी देखि नयाँपुल खण्ड सम्म स्तरोउन्नतीको काम र कतै ट्रयाक खोल्ने काम समेत भैरहेको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै आएका थिए ।