Print

सुर्खेतबाट पर्वत आएका ४ जना जलजला गाउँपालिकाको क्वारेन्टाइनमा

१३ जेठ, पर्वत । लकडाउनको समयमा  पैदल हिँडेर सुर्खेतदेखि पर्वत आएका जलजला-७ धाईरिङका चारजना व्यक्तिहरूलाई गाउँपालिकाले आज क्वारेन्टाइनमा राखेको छ । सुर्खेतबाट लुकीछिपी ६ दिन लगाएर उनीहरु आजमात्रै जलजला आइपुगेका हुन् । आएका सबै एकै परिवारका सदस्य रहेको बुझिएको छ । गाउँपालिकाले खटाएका स्वयंसेवकहरूले उनीहरूलाई गाउँ प्रवेश गर्ने क्रममा मंगलबार नियन्त्रणमा लिएका थिए ।

देशभर कोरोनाको जोखिम बढ्दै गएपछि त्यसको संभावित खतराबाट बच्न जलजला गाउँपालिकाले गाउँ प्रवेश गर्ने हरेक व्यक्तिहरूको निगरानीका लागि विगत तीनसाता देखि गाउँपालिकाका ९ वटै वडामा स्वयंसेवक परिचालन गरेको छ । त्यसैगरि कोरोनाको आशंकामा पिसिआर परिक्षण गरिएका थप एकजनालाई समेत क्वारेन्टाइनमा राखिएको छ । ‘देशभर कोरोनाको संक्रमण बढ्दै गएकोले गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए। ‘

गाउँपालिकाले जलजला ४ मोहनचोकस्थित लुङ्दी आधारभूत विद्यालयमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । उक्त क्वारेन्टाइनलाई सुविधा सम्पन्न बनाउने तयारी भएको अध्यक्ष मल्लले बताए ।