Print

मृग मारेको आरोपमा दुई जना पक्राउ

५ जेठ, बागलुङ ।  जिल्लाको गलकोट नगरपालिकामा मृग मारेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय जंगलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका वडा नम्बर ४ का ४९ बर्षिय बेलराम सुवेदी र सोही ठाउँका ३० बर्षिय ओम बहादर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट मृगको पकाएको मासु, काँचो मासु र हड्डीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताए । सुराकीको आधारमा हटिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुवेदी र खड्कालाई नियन्त्रणमा लिएको थियो ।

घटनाको विषयमा अनुसन्धान भैरहेको र कानुन बमोजिमको कारवाहीका लागि मुद्धा चलाईने केसीले बताए । लकडाउनको समयमा संरक्षित जंगली जनावरको सिकार गर्नेहरु सक्रिय भएको प्रहरीले जनाएको छ ।