Print

कुश्मामा सवारी साधनको चाप बढेपछि सिडिओ र डिएसपि नै सवारी चेकिङमा

२९ वैशाख, पर्वत । विगत ४५ दिन देखि जारी लक डाउन विस्तारै खुकुलो बनाइएको छ । अत्यावश्यक बाहेकका सवै काम बन्द भएको यो लक डाउनमा केहि आवश्यक कामहरुका लागि सरकारले खुकुलो बनाएको हो । लक डाउन खुकुलो बनाएसंगै सडकमा सवारी साधनहरुको चाप बढ्न थालेपछि सवारी साधनको चेकजाँचलाई भने कडाई गरिएको छ ।

सोमबार विहादै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र प्रहरी नायव उपरिक्षक श्यामु अर्याल सवारी चेकिङमा देखा परे । सवारीको उच्च चाप हुने कुश्माका शिवालय चोकमा सिडिओ नेपाल र डिएसपि अर्याले नै सवारी साधन रोकेर उनीहरु के कामका लागि हिडेका छन् सो बारेमा जानकारी दिएका थिए ।

अत्यावश्यक बाहेकका सामान्य कामहरुमा हिडेका १ दर्जन भन्दा बढि सवारीलाई कारबाही समेत गरिएको छ । अत्यावश्यक काम र सरकारले तोकेका क्षेत्र बाहेकका सवारी साधन सञ्चालनमा भने प्रतिबन्ध कायम नै छ । मानिसको आन्तरीक आवत जावतमा कम नियन्त्रण गरिए पनि सवारी साधनहरुको सञ्चालनमा नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निकायका प्रमुखहरु नै सवारी चेकिङमा खटिएका हुन् ।

सोमबार नै कुश्माको धनेश्वर चोक, मैत्री चोक, प्रगति चोक लगाएतका क्षेत्रहरुमा पुगेर सुरक्षा अधिकारीहरुले सवारी साधनको सञ्चालनमा कडाई गरेका थिए । लक डाउन उल्लघंन गरी सञ्चालनमा आएका सवारीलाई सो अवधिमा कारबाही समेत गरिएको थियो ।