Print

पर्वतमा कोरोना परिक्षणको दायरा यसरी बढाऔं

 

गणेश गिरी/२८ वैशाख, पर्वत । सरकारले घोषणा गरेको लक डाउनको अवधि लम्बिदै गएको छ । अहिलेसम्म ४६ औ दिनको कष्टकर जीवन नेपालीहरुले विताईसकेका छन् । लक डाउनको अवधि बढ्दै जाने तर परिक्षणको दायरा नबढ्दा कोरोना भाइरस संक्रमीत पत्ता लगाउन भने समस्या सृजना भईरहेको छ । संक्रमीत भेटिएका स्थानमा उनीहरुको कन्ट्रयाट ट्रेसिङ गरी थप संख्याको परिक्षण गरिए पनि अरु जिल्ला र स्थानहरुमा परिक्षणको संख्या घटिरहेको छ ।

विदेशबाट आएकाहरुको परिक्षण कार्य देश भर पहिलो चरणमा चल्यो । देशभरजस्तै पर्वतमा पनि भारत र तेस्रो मुलुकबाट आएकाहरुको परिक्षण कार्य सम्पन्न भयो । भारतबाट आउनेहरुको आरडिटि परिक्षण गरियो भने अन्य मूलुकबाट आउनेको पिसिआर परिक्षण गरियो । यसैगरी बागलुङमा भेटिएका संक्रमीतको सम्पर्कमा आएकाहरुको खोजी गरी उनीहरुको समेत परिक्षण सम्पन्न भएको छ । संक्रमणको सम्भावित लक्षण देखिएका र त्यस्तो सम्भावना भएर अस्पताल आउनेहरुको पनि परिक्षण भएको छ । तर, यो ंसंख्या ज्यादै न्यून देखिन्छ । पर्वतमा हालसम्म ९५ जनाको मात्र पिसिआर परिक्षण गरिएको छ । ३ सय ९३ जनाको भने आरडिटि परिक्षण गरिएको छ । ति सवै परिक्षणको नतिजा नेगेटिभ आएको छ ।

कोरोना संक्रमीत पत्ता लगाउनका लागि थप दायरा कसरी बढाउने भन्ने विषयमा भने स्वास्थ्यकर्मी र स्थानीय प्रशासन अलमलमा देखिएका छन् । स्वास्थ्य विज्ञहरुले लक डाउनसंगै परिक्षणको दायरा बढाउनुपर्ने बताइरहेका छन् । तर पनि सरकारले दायरा बढाउन सकिरहेको देखिदैन् । अवको विकल्प लक डाउन मात्र नभएर परिक्षणको दायरालाई थप बृद्धि गर्नु हो । यसको लागि केहि यस्ता क्षेत्रहरुमा परिक्षण कार्य गर्न सकिन्छ ।

– सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, र सञ्चारकर्मी : जिल्लामा शान्ति सुरक्षामा क्रियाशिल सुरक्षाकर्मी लक डाउनको अवधिमा धेरै मानिससंग सम्पर्कमा आएका छन् । दैनिक जसो डिउटुमा खट्दा कोहि न कोहि मानिस भेटिने भएका कारण सुरक्षाकर्मी जोखिममा छन् । यसैगरी उपचारमा खेटिने स्वास्थ्यकर्मी उच्च जोखिममा छन् । जिल्लामा २ जना स्वास्थ्यकर्मीको परिक्षण भए पनि जिल्ला अस्पताल, मेडिकल पसलहरु, स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र तथा नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुको पनि परिक्षण गर्न सकिन्छ । यसैगरी रिर्पोटिङका लागि हिड्ने तथा ट्राभल हिस्ट्रि हुने सञ्चारकर्मीहरुको समेत परिक्षण गर्दा कोरोना परिक्षणको दायरामा थप बृद्धि गर्न सकिन्छ ।

– ब्यवसायीहरु : लक डाउन शुरु भएपछि पनि सरकारको आग्रह बमोजीम अधिकांश खाद्यन्न तथा तरकारी पसलहरु खुल्ला रहेका छन् । जनसम्पर्कका आधारमा खाद्यन्न, तरकारी पसलहरुको सम्पर्क उच्च स्तरमा देखिन्छ । कतिपय अवस्थामा सुरक्षाका कवचहरु अलबम्बन गर्दा पनि मालबहाक ट्रकबाट सामानहरु आउने तथा ग्राहकलाई विक्री गर्दा उनीहरुको जनसम्पर्क बाक्लो छ । त्यस्ता ब्यवसायीहरुको सुचि तयार गरी उनीहरुलाई पनि परिक्षणको दायरामा ल्याउन सकिन्छ ।

– वित्तिय क्षेत्रका कर्मचारीहरु : वैक तथा वित्तिय क्षेत्रले पनि लक डाउनको अवधिमा सेवा प्रवाह गरीरहेका छन् । बैक बन्द हुँदा सेवाग्राहीहरुले एटिएम सेवा प्रयोग गरीरहेका छन् । एटिएम वुथमा जनसम्पर्क कायम नै भएको अवस्था थियो । यस्तो अवस्थामा ति संस्थाहरुका कर्मचारीहरुको पनि परिक्षण कार्य गर्न उपयुक्त हुन्छ । कागजका पैसाको कारोबार हुने वैक तथा वित्तिय संस्थाहरुमा संक्रमणको सम्भावना पनि उच्च हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । यसैले सेवा प्रवाह गरीरहेका बैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीहरुको नामावली संकलन गरी परिक्षणको दायरामा बृद्धि गर्न सकिन्छ ।

– कर्मचारी तथा जनप्रतिनिधिहरु :  लक डाउनको अवधिमा पनि अत्यावश्यक सेवाहरु सरकारी कार्यालयहरुबाट प्रवाह भईरहेका छन् । ति कार्यालयका कर्मचारीहरु पनि जनसम्पर्कमा छन् । पछिल्लो पटक निर्माण कार्य अघि बढाउने भएपछि विकासे कार्यालयका कर्मचारीहरुले कार्यालयबाट सेवा प्रवाह गरेका पनि छन् । अर्को तर्फ, लक डाउनको अवधिमा सवैभन्दा धेरै मानिसको जनसम्पर्कमा आउनेहरुमा जनप्रतिनिधिहरु पनि पर्दछन् । राहत वितरणका लागि तथ्यांक संकलन, विभिन्न वैठकहरुमा सहभागीता तथा राहत वितरण कार्यमा स्वय्म उपस्थित हुने नगर तथा गाउँपालिकाका पदाधिकारीहरु, वडाअध्यक्ष तथा वडासदस्यहरु निरन्तर स्थानीय ब्यक्तिहरुसंग सम्पर्कमा छन् । सुरक्षाका सावधानी नअपाउनेहरुमा संक्रमणको सम्भावना निकै उच्च देखिन्छ । अझ बढि राहत वितरण कार्यमा निकै भिड लागेको अवस्था पनि थियो । यस्तो अवस्थामा सरकारी निकायहरुमा डिउटीमा रहेका कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको परिक्षण गरेर पनि कोराना भाइरस संक्रमणको अवस्था पहिचान गर्न सकिन्छ ।

– वैदेशिक रोजगारबाट फर्केकाहरुको परिवार : विदेशबाट फर्किकाहरुको परिक्षण सम्पन्न भएको छ । पिसिआर र आरडिटि परिक्षण कार्य सकिए पनि उनीहरुमा संक्रमण भने पुष्टि भएन । आरडिटि परिक्षणको विश्वसनीयता माथि भने सर्वत्र जिज्ञासाहरु उठिरहेका छन् । अर्को तर्फ नेपालमा भेटिएका संक्रमीतहरुमा लक्षण नदेखिएका कारण संक्रमणको जोखिम अझै उच्च देखिन्छ । त्यसैले वैदेशिक रोजगार र वैदेशिक भ्रमणबाट फर्किएकाहरुको परिवारसम्म पनि परिक्षणको पहुँच बृद्धि गर्न सक्ने हो भने संक्रमणको अवस्था यकिन हुनसक्नेछ ।

– बाहिरी जिल्लाबाट भित्रनेहरु : लक डाउनको अवधिमा सरकारले अलपत्र परेकाहरुलाई यात्राको अवसर दियो । योसंगै काम विशेषले बाहिरी जिल्लामा गएका र मजदुरी पेशामा रहेकाहरु लक डाउनकै अवधिमा पर्वत भित्रिएका छन् । उनीहरुको तथ्याक स्थानीय तह र प्रशासनले राखेको छ । संक्रमणका लक्षण नभए पनि उनीहरुलाई समेत परिक्षणको दायरामा ल्याउन सकिन्छ ।

परिक्षणको दायरा बृद्धि गर्दै यि सवैमा संक्रमण पहिचानका लागि दायरा बृद्धि गर्नसकेमा जिल्लालाई संक्रमण मुक्त भए नभएको पहिचान गर्न सकिनेछ । परिक्षण नगर्दा संक्रमीतहरुमा लक्षण नदेखिएको अवस्थामा यसले कुनै पनि बेला भयाभहको अवस्था निम्तन सक्छ । परिक्षण कार्य भने सहज छैन् । सिमित स्वास्थ्यकर्मी र सिमित स्वास्थ्य सुरक्षाका सामाग्रीहरुका कारण यो कार्य कटिन भने छ । यद्यपि यसलाई कार्य योजनाको रुपमा राखेर स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र प्रशासन संयन्त्र तथा जनप्रतिनिधिले ध्यान दिन सकेमा भाइरस खोजी कार्यले मुर्त रुप पाउने देखिन्छ ।