Print

पर्वतमा २३ जनाको कोरोना परिक्षण, १४ को नेगेटिभ, ९ जनाको रिर्पोट आउन बाँकी

२५ चैत, पर्वत । सरकारले लक डाउन घोषणा गरेको १४ औं दिनसम्म पर्वत जिल्लामा १४ जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका सवैको नतिजा भने नेगेटिभ आएको पर्वत कोरोना अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

परिक्षणको दायरा सानो भएको र यसलाई बढाउनुपर्ने माग उठिरहेको बेला पर्वतमा भने हालसम्म १४ जनाको मात्र परिक्षण भएको छ । ९ जनाको भने रिर्पोट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए । उपचारका लागि कोरोनाको लक्षण देखिएकाहरु नआएका कारण परिक्षणको संख्या न्युन देखिएको पर्वत अस्पतालका डाक्टर देवकोटा बताउँछन ।

१४ जना मध्ये पहिलो परिक्षण कतार एरवेजमा आएका बागलुङका एक युवकको गरिएको थियो । विदेशबाट फर्के पछि पर्वतको कुश्मामा बस्दै आएको उनको परिक्षणको नतिजा नेगेटिभि आएको थियो लगतै पर्वतकै विहादी गाउँपालिका बाच्छाकी एक महिलाको परिक्षण गरिएको थियो । उनका श्रीमान केहि दिन अघि मात्रै भारतबाट फर्केका थिए । श्रीमान विरामी नभए पनि श्रीमति विरामी हुँदा उनलाई कोरोनाको आशंका गरी परिक्षण गरिएको थियो । उनमा पनि संक्रमण भेटिएको थिएन ।

सम्भावित संक्रमितहरुको खोजी गर्न क्रममा पर्वतको जलजलाका धाइरिङका एक युवाको परिक्षण गरिएको थियो । उनी कतार एरवेजमा आएकी बागलुङकी संक्रमीत युवतीसंग काठमाण्डौं देखि पोखरासम्म विमानमा संगै आएका थिए । उनको नतिजा पनि नेगेटिभ आएको थियो । यसैगरी बागलुङकी संक्रमित युवतीका नातेदार जलजला गाउँपालिका नाङलीवाङका युवाको परिक्षण परिक्षण गरिएको थियो । उनको नतिजामा पनि कोरोना संक्रमण पुष्टि हुन सकेन ।

कोरोनाका सम्भावित संक्रमितहरुको दायरा बढाउने क्रममा बागलुङकी संक्रमीत महिलाका दुई नातेदारको पनि परिक्षण गरियो । उनीहरु दुवै कुश्मा नगरपालिका चुवाका बासिन्दा हुन । उनीहरुमा पनि संक्रमण देखिएको थिएन ।

योसगै पर्वतमा कोरोना परिक्षणको दायरा बढाउन दोस्रो चरणको अभियान शुरु गरियो । दोस्रो चरण अन्तर्गत जिल्ला भित्र विदेशबाट फर्केकाहरुको परिक्षण कार्य शुरु भएको छ । सम्पर्कमा आएका तर परिक्षणका लागि नआएका तथा लक्षण नदेखिएकाहरुलाई पनि परिक्षणको दायरामा ल्याएर उनीहरुको समेत परिक्षणको काम यतिबेला भईरहेको छ । उनीहरु मध्ये ८ जनाको परिक्षणका नतिजा पनि आएको छ । ति सवैको नतिजा पनि नेगेटिभ देखिएको अस्पतालले जनाएको छ । योसंगै पर्वत जिल्लामा १४ जनाको परिक्षण गरिएको र उनीहरुर सवैको नतिजामा संक्रमण नभेटिएको अस्पतालले जनाएको छ ।