२४ चैत, पर्वत । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकाम बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो ।
छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिए सँगै थप सजगता अप्नाइएको पर्वतमा प्रहरीले समेत कार्बाही गर्न शुरु गरेको हो । सर्वसाधारणकै सुरक्षार्थ लकडाउन गरिएपनि पर्वतमा सर्वसाधारणबाटै पटकपटक उल्लंघन हुने गरेपछि एक्सनमा जान बाध्य भएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर विकास थापाले बताए ।
३ वटा मोटरसाइकल तथा अन्य ५ वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ओसार पोसार गरीरहेको अवैध मदिरा समेत नियन्त्रण लिइएको छ ।
यता जिल्ला प्रशासन कार्यालय पर्वतले समेत पटक पटक सर्वसाधरणका लागि सूचित गरिरहेको छ ।




